अहिले बैंकका कर्मचारीहरु घरजग्गा किन्ने ग्राहक खोजेर हिँडिरहेका छन् । लिलामीमा राखिएको घरजग्गा बिक्री नभएपछि बैंकका कर्मचारीहरु आफैं खटिएका हुन् । सार्वजनिक ठाउँ, चिया पसलमा बैंकका कर्मचारीहरु विभिन्न ‘अफर’ सहित हिँडेको भेटिन्छ । आधा पैसा दिनुस् बाँकी बैंकबाट कर्जा मिलाइदिन्छौं भनेर उनीहरु ग्राहकलाई फकाउने काम गरिरहेका छन् ।
हिजो दलालीको भर पर्दा आज सबै फसेका छन् । चाहे त्यो बैंक होस् या व्यक्ति अहिले घाँडो बनेको अवस्था छ । एक करोड नजाने घरलाई दलालीले रातारात तीन करोड पुर्याए । जग्गामा पनि त्यस्तै भयो । दलालीहरुले दिनको दुई गुणा र रातको चौगुणा भाउ बढाउँदै लगे । बैंकबाट कर्जा मिलाइदिने भन्ने अनि सोझासाझी ठग्ने काम तीन वर्ष अगाडिसम्म व्यापक भइरहेको थियो ।
बैंक तथा वित्तिय संस्थामा त्यही घरजग्गा राखेर व्यक्तिले कर्जा लिए । आफूसँग भएको पैसा पनि घरजग्गामै हाले, यता अपुग भएर बैंक तथा सहकारीबाट समेत ऋण लिइयो । सबैले घरजग्गामा नाफा हुने देखेकाले त्यसमै लगानी गरे । जीवनभरको कमाइ र बैंकबाट ऋण लिँदै घरजग्गामा खन्याइयो । केही समय घरजग्गा कारोबार फस्टायो । तर, सँधै बजार उही रफ्तारमा चल्दैन् भन्ने उनीहरुले बुझेनन् ।
कर्जा तिर्न नसकेर अहिले ऋणीहरुले हात उठाएको अवस्था छ । बैंकहरुसँग धितो तान्नेबाहेक अन्य कुनै विकल्प छैन् । एकातिर ऋणीहरु सोत्तर भए भने अर्कोतिर बैंकलाई तानेको धितो लिलाम गर्नकै सास्ती छ । कसलाई लगेर भिडाउने भइरहेको छ, बैंकलाई । यता, ऋणीहरु पनि चुलुम्मै भएका छन् । बैंकले धितो तानेपछि ऋणीहरु सुकुम्बासी भएका छन् ।
जीवनभरको कमाइ त्यही घरजग्गामा हालेका थिए, जुन बैंकले तान्यो । बैंकले घरजग्गा तानेपनि कसले किन्ने ? सर्वसाधारणलाई दुई छाक खान धौ धौं परेको अवस्थामा घरजग्गा कसले खोज्ने ? लिलामीमा राखेको धितो बिक्री नभएपछि बैंकका कर्मचारी आफैं खटिनुपर्ने अवस्था जाइलागेको छ । बैंकले ऋण मिलाइदिन्छु भनेर के गर्नु भोलि तिर्न सकेन् भने तानिहाल्छ । आउनुपर्ने आखिर सडकमै हो ।
बैंकबाट ऋण लिएर घरजग्गा खरिद गरेकाहरु पनि ग्राहकको खोजीमा छन् । विज्ञापन गरेर, पोष्टर टाँसेर, बाटो बाटो चहार्दै उनीहरु ग्राहकको खोजी गरिरहेका छन् । बैंकले धितो तान्नुभन्दा आफैं बेचेर कर्जा चुक्ता गरिदिन्छु भनेर लागिपर्दासमेत खरिदकर्ता भेटिन मुश्किल छ । मालपोत कार्यालयमा राखिएका लेखनदासहरुको कार्यालयमा भीड छ । त्यो भीडचाँहि घरजग्गा बेच्नेहरुको हो ।
जग्गा किन्ने मान्छे मिलाइदिनुस् भन्दै लेखनदासका धाउनेहरु यत्तिकै छन् । पैसाले फिटिफिटि पारेकाले सस्तोमै भएपनि घरजग्गा बेच्न तयार छन् । अहिले घरजग्गामा कारोबार शून्यझैं छ । जो हेर्यो बेच्ने मात्र भन्छन्, किन्ने कोही छैन् । जता हेर्यो घरजग्गा बिक्रीमा भनेर टाँगिएको हुन्छ । मालपोत कार्यालय पनि चनमन्न छ । तीन वर्ष अघिको एक तिहाइ कारोबार पनि अहिले छैन् ।
वास्तवमा भन्ने हो भने घरजग्गामा पाँच दशकअघि कै अवस्था देखिएको छ । घरजग्गाको मूल्य नै छैन् । जुन रफ्तारले जग्गा दलालीले घरजग्गाको मूल्य बढाएका थिए, त्यही रफ्तारमा घटेको छ । किसानहरुसँग सस्तोमा जग्गा किनेर खण्डीकरण गर्दै दलालीले मँहगोमा बेचे । एक लाख रुपैयाँ आनाको नजाने जग्गालाई टुक्राटुक्रा बनाएर, प्लानिङ्ग गरेर लाखौंमा बेच्ने काम भयो ।
मुलुकको ९५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाएर सकियो । उर्वरयुक्त भूमिमा दलालहरुले कंक्रिट बनाइदिए । देशमा भोकमरी सिर्जना हुने छाँटकाँट अहिले नै देखिसकेको छ । आकासिँदो मँहगी र व्यापार घाटाले यो प्रष्ट पार्छ । दलालहरुले त राज्यदेखि लिएर बैंक तथा वित्तिय संस्था र सर्वसाधारणसम्मलाई लुटे । राज्यले क्षणिकको राजश्व देख्दा व्यापार घाटा ह्वात्तै बढेको छ ।
आफ्नो जनताको पेट भर्न अर्को देशको गुलामी गर्नुपर्ने अवस्था छ । आफ्नो उत्पादनको नामोनिशान छैन्, सबै भारतदेखि लिएर तेस्रो मुलुकबाट आयात हुन्छ । कृषिमूलक देशकै खेतीयोग्य जमिन सबै मासिसकेको छ । किसानहरु सबै पलायन भइरहेका छन् । हिजो निर्यात गर्ने देश आज विदेशीहरुको व्यापार गर्ने थलो बनेको छ । स–साना वस्तुसमेत आयात गर्नुपर्ने अवस्था छ ।
राज्यको कमीकमजोरी र लाचारिताको फाइदा दलालीले उठाए । किसानहरुको उठीबास लगाउँदै जग्गा प्लानिङ्ग गरे । रातारात भाउ बढाइयो । बैंकले पनि घरजग्गामा नाफा देख्यो, व्यक्तिले पनि । कहाँ लगानी गर्नेभन्दा घरजग्गामा । विदेश जानेको आँखा पनि घरजग्गामा, देशमा बस्नेको पनि त्यही । आफूसँग भएकोले नपुगे बैंकले कर्जा दिने भएपछि त के चाहियो ।
आँखा चिम्लेर लगानी गर्दाको परिणाम अहिले देखापरेको छ । घरजग्गाले अधिकांशलाई रुवाएको छ । आफ्नो पैसा त फस्यो, बैंकको ऋण कहाँबाट ल्याएर तिर्नेजस्तो भइरहेको छ, ऋणीहरुलाई । अधिकांशको घरजग्गा, गाडी, सेयर बैंकको नाममा छ । यी क्षेत्रमा अहिले पूरै मन्दी छाएको छ । बैंक तथा वित्तिय संस्थाको सबैभन्दा धेरै कर्जा लगानी यी क्षेत्रमै छन् । सेयर कारोबार सुस्ताएको लामो समय भइसकेको छ ।
३५ सय रुपैयाँसम्म कित्ता पुगेको सेयर अहिले एक सय रुपैयाँमा बेच्छुभन्दा पनि किन्न कोही छैनन् । नयाँ गाडी होस् या पूरानो किनबेच छैन् । बजारमा आएको मन्दीले सबैलाई निराश बनाएको छ । हरेक व्यापार व्यवसाय डामाडोल छ । सरकारले जग्गाको कित्ताकाट खोल्यो तर प्रगति केही छैन् । कित्ताकाट खोलेपछि राजश्व उठ्छ भन्नु दिँउसै सपना देख्नुझै भएको त अहिले प्रमाणित भइसकेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महत अझैपनि बजारले गति लिन्छ भनेर दाबी गरिरहेका छन् । कहिले लिन्छ बजारले गति ? यस्तै पाराले गति लिने होइन्, झनै अवस्था नाजुकचाँहि बन्छ । सरकारसँग कुनै योजना छैन् । बजारलाई कसरी चलायमान बनाउन सकिन्छ ? अहिले देखिएका समस्या कसरी निराकरण गर्ने ? सरकारको ध्यान पुगेको देखिँदैन् । जहिले सुधारिन्छ मात्रै भनेर भएन् नि ।
त्यसका लागि त काम पनि गर्नुपर्यो । सरकारले लक्ष्यअनुरुप राजश्व उठाउन सकेको छैन् । सरकारी खर्च धान्नै सरकारलाई महामुश्किल परेको अवस्था छ । कताबाट ऋण ल्याएर कताको समस्या टार्ने ? सरकारको ध्यान यतिमै सीमित छ । तत्कालै बजार पूरानो अवस्थामा फर्किने देखिँदैन् । आर्थिक संकटले सबैलाई अप्ठेरोमा पारेको छ । झन् बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनेहरु तनावमा छन् ।
बेचौं बिक्री हुँदैन्, बैंकको कर्जा तिर्न गोजीमा शुको छैन् । सहकारी कसरी डुब्यो ? यसको कारण त खुलिसक्यो । घरजग्गामा गरेको लगानीले नै सहकारीहरुलाई भाग्ने अवस्थामा पुर्यायो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले घरजग्गा, सेयर र गाडीमा लगानी गर्ने बैंकहरु समस्यामा छन् भन्ने थाहा पाइसकेका छन् । सर्वसाधारणलाई मात्र होइन्, बैंकलाई पनि घरजग्गा, सेयर र गाडीमा गरिएको लगानीले पछुतो लागेको छ ।
बैंकको ब्याज बत्तीको मीटरझैं बढेको बढ्यै छ । तर, कर्जा तिर्न सक्ने अवस्था कसैको छैन् । अब अर्थमन्त्री डा महतले कतिञ्जेल ढाँट्छन् ? खर्च कटौती गर्ने कि ढाँटिरहने ? यो सरकारको हातमा छ । पद जोगाउने काम मात्र नगरौं । राष्ट्र र जनताको बारेमा पनि सोचौं । बजारमा माग भए त मूल्य बढ्ने हो । माग नै छैन् केको भाउ बढ्नु ? अझैपनि घरजग्गा, सेयर दलालीहरुले सर्वसाधारणलाई फसाउन सकिन्छ कि दाउ खोजेर बसिरहेका छन् ।
दलालीदेखि अब सर्वसाधारण होसियार हुनुपर्छ । उनीहरुलाई आफू जोगिएर अरुलाई फसाउनु छ । अहिले त कसले कसलाई ‘मुर्गा’ बनाउन सकिन्छ भन्नेमै दौडधुप चलेको छ । राज्य दलालीकै पक्षमा देखिन्छ । कसरी हुन्छ घरजग्गाको मूल्य बढाउनुपर्यो ? राज्यको ध्यान पनि यतैतिर छ । राजश्व लिनका लागि राज्यले नै सर्वसाधारणलाई खाडलमा धकेल्दै छ ।
अनुसा थापा
भक्तपुर