देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँः मन्त्री बस्नेत

काठमाडाैं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताउनुभएको हो । उहाँले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताउनु भयो । उहाँले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने बताउनु भयो । उहाँले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयो ।  मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगिकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भिरताका साथ उठाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले भनेका छौँ सबैको लागि ऊर्जा । आगामी दुई वर्षभित्र राष्ट्रव्यापी रुपमा पूर्ण विद्युतिकरण । देशभरी पूर्ण विद्युतिकरणको लक्ष्य निर्धारण गरेका छौँ । पाँच वटा प्रदेशमा यसै आर्थिक वर्षमा, दुईवटा प्रदेशमा आगामी आर्थिक वर्षमा कम्प्लिट गर्नेगरी पूर्ण विद्युतिकरण जसलाई हामीले सबैका लागि स्वच्छ ऊर्जाको सुनिश्चित गर्ने मिसनका साथ काम गरिराखेका छौँ । विकासको लागि ऊर्जा र समृद्धिको लागि ऊर्जा । हामीले यो अभियान, यो मिसन अन्तर्गत पनि काम गरिराखेका छौँ । यो सामान्य पूर्वाधारको कुरा मात्रै छैन । यसले मुलुकको समग्र अर्थतन्त्रलाई, यो एउटा सेवा प्रवाहको क्षेत्रमात्र भएन ।

उज्यालोको कुरा मात्र भएन । यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र आर्थिक विकासमा प्रत्यक्ष योगदान गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउनको लागि योगदान गर्ने, त्यसको पूर्वाधारको रुपमा काम गर्ने यसको बहुआयामिक अर्थ एवं महत्व जहाँनेर छ यो सबै दृष्टिले हेरेर अब हामी घरायसी प्रयोजनका लागि मात्र विद्युतिकरणको कुरा गरिराखेका छैनौँ । हामी उद्योगधन्दाहरु अर्थात आर्थिक विकासका पूर्वाधारहरुको लागि मात्रै पनि कुरा गरिराखेका छैनौँ । खपत क्षमता वृद्धि गर्दै विद्युत निर्यातको कुरा गरिराखेका छौँ । निर्यात व्यापारको कुरा गरिराखेका छौँ र आर्थिक समृद्धिमा अझ प्रत्यक्ष योगदान पुग्ने विश्वास पनि हामीले लिइराखेका छौँ । त्यसैले सबैको लागि ऊर्जा । कृषिको लागि, पर्यटन व्यवसायको प्रवद्र्धनको लागि, औद्योगिकरणका लागि र समग्र अर्थतन्त्रका लागि हामीले विकासका लागि ऊर्जा, समृद्धिका लागि ऊर्जाको एजेण्डालाई त्यही महत्व र गम्भिरताका साथ उठाएका छौँ ।’

उहाँले सरकारले स्वच्छ वातावरणका लागि नविकरणीय ऊर्जाको कुरा पनि महत्वका साथ उठाएको बताउनु भयो । मन्त्री बस्नेतले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्