काठमाडाैं – हरेक सरकारले कृषि उद्यम र स्थानीय स्तरमा नै युवाहरुलाई रोजगारी श्रृजना गर्ने कुरा आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेपनि सर्वसाधरणले त्यसको महशुस गर्न पाएका छैनन् । वैज्ञानिक भूमि सुधारका विषय पनि कागजमा मात्रै सिमित छन् । रोजगारीका अवसर श्रृजना नहुँदा दैनीक विदेशीने युवाहरुको संख्या बढ्दै गएको छ भने मुलुकभित्र दक्ष जनशक्तिको अभाव देखिन थालेको छ ।
विज्ञहरु कृषि उद्यमी र रोजगारी श्रृजना गर्ने सवालमा रुवाण्डाबाट नेपालले सिक्नुपर्ने सुझाव दिन्छन् । द्वन्द्वविद् डाक्टर उप्रेतीले सानो मुलुक भएपछि त्यहाँको सरकारले कुनैपनि जमिन बाँझो नराख्ने, कृषि उत्पादनको मूल्य निर्धारण गरेर कृषकलाई उत्पादनमाथिको सुरक्षा प्रत्याभुति गर्ने र ठूलाठूला परियोजनामार्फत रोजगारी श्रृजना गर्ने गरेकाले युवाहरु रुवाण्डा छाडेर अन्यन्त्र जाने अभ्यास नरहेको बताउनु भयो ।
डा.उप्रेति भन्नुहुन्छ– ‘रुवाण्डाले मुलुकभित्रै रोजगारी सिर्जना गरेको छ । ल्याण्डपुलिङ आयोजनाहरु भनेर ठूला–ठूला परियोजनाहरुमार्फत ऋण उपलब्ध गराउने,रोजगारीको अवसर सुनिश्चित गर्ने, कृषि उत्पादनको न्युनतम मूल्य तोकेर ग्यारेन्टी गरिदिने भएकाले रुवाण्डाका युवाहरु गाउँ छोडेर शहर वा अन्य मुलुक जाने कल्पना पनि गर्न सकिँदैन । उनीहरु आफ्नो गाउँमा खुशी छन् । किसानको संरक्षण गर्ने शैली नेपालले सिक्नुपर्छ । ‘फार्मर फष्र्ट’ भन्ने नारा छ । किसानलाई पहिलो प्राथमिकता दिइएको छ । किसानको उत्पादनको हिसाव गरेर लागत,मुनाफा न्युनतम मूल्य अनिवार्य तोकेको छ । त्यो भन्दा तल गएर कसैले किनबेच गर्न पाउँदैन । यसले उत्पादनको ग्यारेन्टी गर्ने भयो । राज्य निर्माणमा युवा शक्तिको परिचालन कसरी गर्न सकिने रहेछ भन्ने कुरा राम्रोसँग सिक्न सकिन्छ ।’
अन्तर्राष्ट्रिय विकास परामर्शदाता डाक्टर बर्माले सुशासन र सुरक्षा सफल राष्ट्रको पहिचान हुने यी दुई कुराले पर्यटकलाई आकर्षित गर्ने भएकाले पर्यटन प्रवद्र्धन गर्ने कला पनि रुवाण्डाबाट सिक्न सकिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘पर्यटन प्रवद्र्धनका लागि रुवाण्डालाई फाइदा दिने मुद्दाहरू भनेका सुशासन र सुरक्षा हुन् । किन भने पर्यटकले हरेक पाइलामा भ्रष्टाचारको नकारात्मक नतिजा भोग्नुपर्छ । त्यसैले कुनै नि देशमा पर्यटन प्रवद्र्धनका लागि सुशासन अपरिहार्य हुन्छ । रुवाण्डाले गोरिल्लालाई धेरै सफलतापूर्वक र स्मार्ट रूपमा ब्रान्ड गर्न सफल भएको छ । रुवाण्डा सरकारले पर्यटन लाई समर्थन गर्नको लागि बनाएको पूर्वाधार उल्लेखनीय छ । मलाई लाग्छ नेपाल भगवानले उपहार दिएको देश हो । यहाँको प्रकृतिको कारण नेपाल मनपराउने र नपराउनेमा मानिसहरु विभाजित हुँदैनन् । नेपालले विश्वको ध्यान तान्न सक्नेगरी पर्यटकिय स्थल वा पहिचानलाई ब्राण्डिङ गर्नसक्नुपर्छ । ’