अहिले आम सर्वसाधारण व्यवसायी दुर्गा प्रसाइँले भनेको कुरा पुग्दै आएको बताउँछन् । २०७९ फागुल्न २० गते प्रसाईँले काठमाडौंको बनेश्वरस्थित सर्वसाधारणलाई भेला गरेर भनेका थिए कि बैंक तथा वित्तिय संस्थाका कारण धेरै मानिस आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे र धेरै विस्थापित भए ।
बैंक तथा वित्तिय संस्थाले करोडमूल्य पर्ने धितो राखेर लाख रुपैयाँ कर्जा दियो । त्यो पनि घुस लिए । यता, महंगो सेवाशुल्क र चर्को ब्याज पनि लियो । तर, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गप्यो । त्यसकारण पनि प्रसाईँको उक्त भेलामा बैंक तथा वित्तिय संस्थाबाट पीडित भएका लाखौं जनता सहभागी भए ।
जनताले प्रसाईँको साथ दिएपछि अधिंकाश बैंक तथा वित्तिय संस्था तर्सिए । उनले अधिंकाश ऋणी घर न घाटको हुनुका साथै बैंक तथा वित्तिय संस्था समेत डुब्ने अवस्थामा पुग्ने दाबी गरेका थिए । साथै, केही समयमै बजारमा व्यापक मन्दी आउने र अधिंकाश घर, कोठा, सटर खाली हुने उनले बताएका थिए ।
प्रसाईँले भनेको कुरा अहिले सही सावित भएको छ । बैंक तथा वित्तिय संस्थाबाट करोडौं जनता पीडित हुनुका साथै बजारमा पूरै मन्दी छाएको छ । एकाएक घर, कोठा र सटर खाली भएका छन् । आम नागरिक अहिले दुर्गा प्रसाईँलाई सम्झिन्छन् । उनीहरु भन्छन्, ‘प्रसाईँले भनेको कुरा सत्य रहेछ ।’
पछिल्लो समय बजारमा मन्दी छ । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प छ । मानिससँग पैसा छैन । जसले गर्दा व्यापारव्यवसायमा समेत नराम्रो प्रभाव परेको छ । व्यवसायीहरु दिनदहाडै आत्महत्या गरिरहेका छन् । तर, सरकार अहिले पनि प्रसाईँको कुरामा विश्वास गर्दैन ।
न त बजारमा भएको मन्दीबारे नै अध्ययन गर्छ । अहिले मुलुकको अर्थतन्त्र श्रींलका र पाकिस्तानको भन्दा पनि नाजुक अवस्थामा पुगेको सर्वसाधारण बताउँछन् । तर, सरकार न त सुन्छ न देख्छ । अब पनि सरकारले यसतर्फ चासो नदिने हो भने प्रत्येक दिन व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुनेछन् ।
अहिले नै व्यापारव्यवसायमा आएको मन्दीका कारण उनीहरु चिन्तित छन् । दिनभरी पसलमा बस्छन् तर कहिलेकाँही त बहनी समेत हुदैँन । जनतामा निराशा छाएको छ । व्यापारव्यवसाय डुबेको छ । यद्यपि, बैंकहरु भने अहिले पनि सर्वसाधारणमा भ्रम छरिरहेको छ । उनीहरु झुठो नाफाको विवरण सार्वजनिक गरिरहेका छन् ।
यसरी व्यवसायीहरुले दिनदहाडै आत्महत्या गर्न बाध्य हुँदा र जनता डुब्दा समेत सरकारले यसबारे केही खोजतलास गरेको छैन । अहिले पनि किन व्यवसायीले आत्महत्या गरे र किन जनता डुबे भनेर सरकारले अध्ययन अनुसन्धान गर्न चासो व्यक्त गरेको छैन ।
यता, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई पनि जनताभन्दा आफ्नो पद प्यारो भएको छ । बजारमा आएको मन्दीका कारण जनता र व्यवसायीमा ठूलो प्रभाव पर्दा समेत सरकारले चासो नदिएको सर्वसाधारणको गुनासो छ । अब मुलुकको अर्थतन्त्र के हुन्छ र देश कतातिर जान्छ भनेर उनीहरु चिन्तित छन् ।
अधिंकाश बैंक तथा वित्तिय संस्था धरायसी भइसकेका छन् । व्यवसायी दुर्गा प्रसाई, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतले बैंकबाट अर्बो कर्जा लिएर साँबाब्याज समेत नतिरेको सुनिन्छ । अहिले व्यापारीहरुले बैंकको किस्ता तिर्न छोडिसकेका छन् ।
बैंकले पनि उनीहरुको धितो लिलामी प्रक्रिया अघि बढाएपनि किन्ने कोही छैन । आम सर्वसाधारणले पनि बैंक तथा वित्तिय संस्थामा बचत गर्न छोडिसकेका छन् । यसले बैंकमा बचत गर्नेभन्दा निकाल्नेको संख्या हवात्तै बढेको छ । अहिले उद्योग व्यवसायीहरु ६ दशकअघिको अवस्थामा अर्थतन्त्र पुगेको बताउँछन् ।
तर, सरकार भने सुनेर पनि नसुनेझैं गर्छ । राजनीतिक दलहरुलाई सत्ताकै चासो छ । उनीहरुले राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ भनेर मतलब छैन । तर, सत्ताको निकै माया छ । अहिले माडेहरुले नेपालका बैंक तथा वित्तिय संस्थामा रकम जम्मा गर्न छोडिसकेका छन् ।
उनीहरु यहाँ बसेर व्यापारव्यवसाय गर्छन् । तर, पैसा भने आफ्नो मुलुक लग्छन् । त्यसकारण अब बैंक तथा वित्तिय संस्थाले कहाँबाट पैसा ल्याउँछ र नाफा कमाउँछ ? मुलुकभर दर्तामा रहेकामध्ये अधिंकाश सहकारी डुबेर भागिसकेका छन् । उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् ।
यता, बैंकहरुको पनि मर्जमा जान काम जारी नै छ । भन्सार कार्यालय, मालपोत कार्यालय र यातायात कार्यालय सुनसान देखिन्छन् । बजारमा घरजग्गा, गाडी र सेयर किन्ने यत्तिकै छन् । तर, किन्ने कोही छैन ।
यसरी मुलुकको अर्थतन्त्र यो अवस्थामा पुग्दा समेत राजनीतिक दलहरु एक अर्कोलाई आरोप प्रत्यारोप लगाउनमै व्यस्त छन् । अब मुलुकको अर्थतन्त्र कुन अवस्थामा पुग्छ र देश कतातिर जान्छ ? भनेर कोही पनि भन्न नसक्ने अवस्थामा छन् । धेरै मानिस बैंक वा व्यक्तिबाट लिएको ऋणमा फसेका छन् ।
ऋणकै कारण अधिंकाश मानिस डिप्रेसनमा गएका छन् । तर, सरकारमा बस्ने मानिसलाई भने यसप्रति चासो छैन । देशको अर्थतन्त्र यस्तो डामाडुल अवस्थामा पुग्दा समेत सरकार कानमा तेल हालेर बस्छ । सुधार्नेतिर ध्यान दिदैँन । अब कुनै जनता बैंकको ऋण तिर्न सक्दिनँ भन्दै सडकमा उत्र्रिछन् त कुनै सहकारीले बचत फिर्ता नगरेको भन्दै सडकमा लम्पसार पर्छन् ।
सरकार पनि जनता सडकमा आएर रुएको हेर्छ तर समस्या समाधानतर्फ चासो दिदैँन । अहिले नै महंगीका कारण जनतालाई बिहानबेलुकाको छाक टार्न धौंधौं परेको छ । बाँच्न मुस्किल भएको छ । जनता यस्तो समस्याबाट गुज्रिदा समेत जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरु जनताको आवाज नउठाई सांसद अवरुद्ध गर्न व्यस्त छन् ।
काठमाडौंको महाबौद्ध, इन्द्रचोकलगायतमा ज्यालादारी गर्दै आएका मजदुरहरु काम नपाएर भोकै बसेको बताउँछन् । घर बनाउने काम गर्दै आएकाहरु पनि एकातिर काम नपाएको र अर्कातिर पाएपनि पारिश्रमिक नपाएको गुनासो गर्छन् । पहिलापहिला काम गर्ने मान्छे भेटिदैँन थियो ।
तर, अहिले घरघरमा मानिसहरु काम खोज्दै आइपुग्छन् । केही वर्षअघिसम्म दुई हजार दिँदा समेत काम गर्न नमान्नेहरु आज हजार रुपैयाँमै गर्न तयार हुन्छन् । मुलुकको अर्थतन्त्र यो अवस्थमा पुग्दा समेत राजनीतिक दलका नेता तथा सरकार अहिले पनि कार्यक्रम उद्घाटनमै व्यस्त छन् ।
पछिल्लो समय बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । आम नागरिकले घरघरमा पैसा लुकाएको बताइन्छ । पेट्रोल पम्पलगायत अधिंकाश ठाउँमा पाँच सय र हजारको नोट आउनै छोडेको बताइएको छ । कोठा, सटर र फल्याट भाडामा लिएर बस्नेले पनि एक वर्षदेखि तीन वर्षसम्मको भाडा नतिरेको सुनिन्छ । निजी संघसंस्था, पसल, होटल, रेस्टुरेन्टलगायत घरायसी काम गर्नेहरुले वर्षोदेखि तलब नपाएको सुनिन्छ ।
विद्यालयको फिस तिर्न नसक्दा अभिभावकहरुले पनि धमाधम आफ्नो बालबच्चा निकालिरहेका छन् । हिजो करोडको गाडी चढेर हिड्ने व्यक्ति र करोडको घरमा बस्ने व्यक्ति आज बैंकले धितो लिलाम गरेपछि भाडाको गाडीमा चढ्न र भाडामा बस्न बाध्य भएकाछन् ।
अहिले बैंकको ऋण तिर्न नसकेर वा खान नपाएर कुन दिन मर्नुपर्ने हो भनेर जनता दिन गनिरहेकाछन् । यस्तो हुँदा समेत राजनीतिक दलमा चेतना आउँदैन र सरकारले आँखा देख्दैन भने कहिले देख्छ ? देश विदेशी लिइसकेपछि देख्ने हो ? सरकार र राजनीतिक दलको आँखा जति ढिलो खुल्छ, त्यति नै राष्ट्र र जनताको हानिनोक्सानी हुन्छ । अब सरकार जनता र राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ ।
रुषा थापा
भक्तपुर