पाँचपोखरीमा जनैपूर्णिमाको दिन भव्य मेला, हजारौँ भक्तजनहरुद्वारा पाँचपोखरी महादेवको दर्शन

काठमाडाैं – विश्वकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३ मा रहेको पाँचपोखरी तिर्थ धाम तथा पर्यटकीय स्थलमा जनैपूर्णिमाको अवसर पारी भव्य मेला लागेको छ । सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य भनेर चिनिने पाँचपोखरीमा हजारौँ दर्शनार्थी तथा भक्तजनहरुले दर्शन गरेका छन्
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन । यसपालि भने भव्य मेला लागेको छ । देशका अधिकांश स्थानहरुबाट भक्तजनहरु आएका थिए भने केहि विदेशीहरुले समेत मेलाको अवसर पारी पाँचपोखरी अवलोकन गरेका छन् ।

समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । पाँच वटै पोखरीको फरक विशेषता बोकेको यस क्षेत्रमा महादेवको मन्दिर समेत रहेको छ । पाँचपोखरीमा रहेको भगवान् महादेव शिवको मन्दिरमा आएर पूजाआजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । पाँच वटा पोखरीमा राम्ररी नियाल्यो भने विभिन्न आकृतिका दृश्यहरु देख्न सकिन्छ । आकृति अनुसार शुभ हुने झाक्रीहरुको भनाई छ । यसैगरी महादेव मन्दिरमा दर्शन गरेपछि मनोकामना पुरा हुने स्थानीय झाक्रिको भनाई छ ।

। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीसम्म पुग्ने पैदल बाटो निर्माण भएको छ भने सूचनापाटी समेत राखेर भक्तजनहरुलाई सहज गरेको देख्न सकिन्छ । ५ हजारभन्दा बढीले पाँचपोखरी दर्शन गरको र पाँचपोखरी पश्चात रैथाने गाउँमा रहेको रैथाने महादेव मन्दिरमा समेत दर्शनार्थीहरुले दर्शन गरेको वडा नं. ३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो ।

कहिले नसुक्ने सदाबहार कञ्चन ताल समेत रैथाने मन्दिर परिसरमा रहेको छ । दिदिबहिनीको सम्बन्ध रहेको यी दुई ठाउँ निक्कै प्रख्यात धार्मिक स्थलको रुपमा चिनिने गरिन्छ । पाँचपोखरी पुग्न नसकेकाहरुले रैथानेमा दर्शन गर्ने र पाँचपोखरी पुगेकाहरु पुनः फर्केर रैथानेमा दर्शन गर्नेगरेको वडा नं. ४ का वडा अध्यक्ष कुलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

भोताङ छिम्तीसम्म मोटरेबल बाटो रहेको र त्यसपछि करिब १५ देखि २० घण्टाको पैदलयात्रापछि उक्त ठाउँमा पुग्न सकिन्छ । एक एक दुई दुई घण्टाको अन्तरपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या भने छैन । पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, डुप्खाँङ गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, ज्योवाथान डाँडालगायत जुगल हिमाल, दोर्जे लाक्पा हिमालसमेत नियाल्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्