महामारीको युग बिस्तारै अन्त्यतर्फ जानसक्छ । तर, दुर्भाग्य, उत्तिकै घातक बन्नसक्ने ‘फ्रिडम पपुलिजम’ को युग भर्खरै सुरु भएको छ । डोनाल्ड ट्रम्प, जैर बोल्सेनारो र विश्वभरका अन्य दक्षिणपन्थीहरुले उनीहरुको भाषण र नीति संकटको समय कति खतरनाक हुनसक्छन् भन्ने प्रमाणित गरिसकेका छन् । तर, परिस्थिती खराब हुनेवाला छ ।
हामी बिस्तारै महामारीपछिको युगमा प्रवेश गर्दैछौं, र युरोपमा नयाँ शैलीको लोकप्रियतावाद उदय हुने संकेत देखिएको छ । कोरोना भाइरस फैलिएयता २०२० को सुरुवातदेखि युरोपका जनतामाथि विभिन्न खाले कोभिड १९ कडाईहरु लादिएको छ, यस महादेशका पपुलिस्टहरु अहिले ‘स्वतन्त्रता’ का लागि लडाँई भन्दै समर्थन बटुल्न खोजिरहेका छन् । सरकार होस् वा प्रतिपक्ष, राजनीतिक वृत्तका सबै पक्षले महामारीलाई कुनै न कुनै रुपमा राजनीतिकरण गर्ने प्रयास गरेका थिए, तर यी प्रयास धेरै हदसम्म असफल हुँदै आएको छ ।
जब समुदायमा भाइरस फैलियो, स्वास्थ सेवामा भीड जम्मा भयो, दशौं हजार मानिसको ज्यान गयो । तब अधिकांश युरोपेली जनताले आफ्नो सरकारसँग केवल सावधानी अपनाउन र जिम्मेवारी पूरा गर्न गरे । यद्यपी, पछिल्ला महिना अवस्था फेरिएको छ । खोप अभियानले महामारी नियन्त्रण गर्न थालेको छ र महामारीका कारण सिर्जित कडाईविरुद्धको आवाजले युरोपभर धेरैभन्दा धेरै जनसमर्थन पाइरहेको छ ।
सरकारहरुले नियन्त्रित र सुरक्षित रुपमा सामान्य अवस्थामा फर्कने सुनिश्चितता खोजिरहेका छन् । नतिजा, नयाँ आलंकारिक शत्रुविरुद्ध मानिसहरुलाई एकजुट गरेर आफ्नो राजनीतिक शक्ति बढाउने नयाँ अवसर पपुलिस्टहरुलाई प्राप्त भएको छ । यो ‘स्वतन्त्र पपुलिजम’ ले आफ्नो पहिलो विजय कम्युनिटी अफ म्याड्रिडको अध्यक्षको हालसालै भएको निर्वाचनमा हासिल गरेको छ । स्पेनका १७ वटा स्वायत्त कम्युनिटीहरुमध्ये म्याड्रिड एक हो ।
बहालवाला म्याड्रिड कम्युनिटी अध्यक्ष इसावेल डियाज आयुसोले ठूलो जनमतसहित यो क्षेत्रीय चुनाव जितेकी छिन्, कोभिड १९ व्यवस्थापनका क्रममा स्पेनको समाजवादी सरकारले लगाएको कडाईबाट जनतालाई मुक्त गराउने वाचा म्याड्रिडकी यी दक्षिणपन्थी नेतृले गरेकी थिइन् ।
हामीले स्पेन र अन्य देशमा बढ्दो ‘स्वतन्त्रता पपुलिजम’ बारे बुझ्न कसरी पछिल्ला वर्षमा सफल राजनीतिक रणनीतिका रुपमा पपुलिजमले कमब्याक गरेको छ भनेर बुझ्नुपर्ने हुन्छ । दक्षिणपन्थी, बामपन्थी र डिजिटल स्वरुपसँगै किन सफलताका लागि सधैं यसलाई शत्रुको आवश्यकता पर्छ भनेर पनि बुझ्नुपर्ने हुन्छ ।
पपुलिजमको पुनरागमन
विचारधाराहरुलाई बेवास्त गर्दै आफु सत्तामा टिकिरहने रणनीतिअन्तर्गत अघिल्लो दशक युरोपका संस्थापन पार्टीहरुले जनचासोका सवालमा बढ्दो रुपमा टेक्नोक्रेटिक व्यवस्थापनलाई समर्थन गरिरहेका थिए । यसअन्तर्गत सम्बन्धित क्षेत्रमा प्राविधिक र वैज्ञानिक ज्ञान भएकाहरुलाई जनतामार्फत चयन गरेर वा सरकारले आफैं नियुक्ती दिएर नीति–निर्माण तहलमा पु–याइयो ।
यस लहरको नतिजा स्वरुप उदाएका गठबन्धनहरुले मध्यमार्गी यथास्थितीवादको पक्षधरता लिदैं दक्षिणपन्थी र बामपन्थी अडानहरुलाई कुनामा फ्याँके, जसकारण राजनीतिमा धेरैको चासो हट्यो । जनतामा नभिजेका मध्यमार्गी प्राविधिक गठबन्धनहरुको नीतिका कारण आर्थिक र सामाजिक असमानता अनपेक्षित रुपले बढ्यो, संस्थापन पार्टीहरुले बेवास्ता गरेका असन्तुष्ट जनतासँग पपुलिस्टहरुले यही समय सिधा सम्पर्क राखे र राजनीतिमा फर्किए । अर्थात्, पपुलिजम महत्वपूर्ण राजनीतिक रणनीतिका रुपमा फर्कियो ।
मानिसका भय, इच्छा र निराशालाई प्रयोग गर्दै पपुलिस्टहरु जनतासँग जोडिए । दक्षिणपन्थीहरुले आप्रवासी वा विदेशी मुलका व्यक्तिहरुको डर देखाउँदै उनीहरुप्रति घृणा र बेवास्ताको राजनीति गरे । बामपन्थीहरुले असल समाज, इच्छा, थप समानता र केवल भविष्यका कुरा गरे ।
यता, ‘डिजिटल पपुलिजम’ अभ्यास गर्नेहरुले इटलीको फाइभ स्टार मुभमेन्टजस्ता अभियान चलाए । सामाजिक सञ्जालको प्रयोगमार्फत उनीहरुले जन–निराशा र परम्परागत प्रजातान्त्रिक मतदान प्रणालीप्रतिको बढ्दो अविश्वासलाई मलजल गरे ।
केही समयका लागि, युरोपमात्रै नभएर बाँकी विश्वमा पनि पपुलिस्टहरुले दिर्घकालिन सफलता हासिल गर्ने देखिएको थियो । तर, नोबेल कोरोना भाइरस वैश्विक महामारीका रुपमा देखिएपछि राजनीतिक वृत्तका पपुलिस्टहरु जनसमर्थन कायम राख्नै संघर्ष गर्नुपर्ने अवस्थामा पुगे ।
त्यसो भए महामारीले लोकप्रियतावादको उदयलाई किन ढिला ग–यो ?
लोकप्रियतावाद यस्तो राजनीतिक रणनीति हो, जसले सधैं जनतालाई एकजुट गराउनका लागि दुश्मन खोज्छ, त्यो चाहे वास्तविक होस् वा काल्पनिक । पछिल्ला वर्षहरुमा पपुलिस्टहरुले राजनीतिक शक्ति हासिल गर्न विभिन्न शत्रुहरु खडा गरे ः आप्रवासी, महिलावादी, अल्पसंख्यक समुदाय, संस्थापन, कुलिन आदी, आदि ।
जब महामारीले हान्यो र जनताको प्राथमिकताहरु बदलिदियो, त्यसपछि राजनीतिक वृत्तका पपुलिस्टहरुले सान्दर्भिक रहिरहन तथा जनसमर्थन कायम राखिरहनका लागि नयाँ शत्रुसहित आउनुपर्ने आवश्यकता महसुस गरे ।
दक्षिणपन्थी राजनीतिज्ञहरु, ब्राजिलका बोल्सेनारोदेखि अमेरिकाका ट्रम्पसम्मले चीनलाई जनताको नयाँ शत्रुका रुपमा प्रस्तुत गर्ने प्रयास गरे ।
स्पेनका पाब्लो इग्लेसियस र फ्रान्सका जियन लुक मेलेनचोनजस्ता बामपन्थी पपुलिस्टले यो महामारीका लागि विकासको अवधारणा र सिद्धान्तलाई दोष दिने हरसंभव प्रयास गरेका छन्, विशेषगरी वातावरण विनाशको मुल्यका रुपमा यसलाई चित्रण गर्न खोजेका छन् । यद्यपी, कुनै पनि पक्षले आफ्ना बहुमत समर्थकहरुलाई आस्वश्त गर्न सकेनन् । त्यतिबेलामात्रै ‘शत्रु’विरुद्ध भीड जम्मा हुन्छ, जतिबेला उनीहरुलाई आफ्ना विशेष माग र दुखहरु शत्रु परास्त भएपछि सम्बोधन हुन्छन् भन्ने लाग्छ ।
महामारीका दौरान, चीनविरुद्ध एकजुट हुँदा वा विकासका सिद्धान्तको हरसंभव विरोध गर्दैमा छोटो अवधिमै आफ्ना समस्या समाधान हुन्छन् भन्ने विश्वास भीडलाई लागेन । तर विषयवस्तु तिव्र रुपमा परिवर्तन भइरहेका छन् । अब हामी महामारीपछिको युगमा प्रवेश गर्दैछौं, पपुलिस्टहरुले जारी महामारीका कारण सिर्जित कडाईप्रति सर्वसाधारणको आक्रोशलाई नयाँ शत्रु बनाउन फेरि शक्तिमा आफ्नो दाबी प्रस्तुत गर्नका लागि प्रयोग गर्न सकिन्छ भन्ने महसुस गरेका छन् ।
गत वर्ष जब कोरोना भाइरस मानिसहरुमाथि तत्कालै स्पष्ट देखिने खतरा बनिरहेको थियो, त्यतिबेला सरकारहरुलाई पनि लकडाउन लागु गर्न र मास्क तथा सामाजिक दूरीको नियम कार्यान्वयन गराउन तुलनात्मक रुपमा सहज थियो ।
तर, अहिले कम्तिमा पश्चिमा विश्वमा महामारी परास्त होलाजस्तो देखिएको छ, खोपलाई यसका लागि धन्यवाद् । जनताहरु यही समय सरकारले लकडाउन खुकुलो गर्न ढिलासुस्ती गरेको भन्दै आक्रोशित छन् ।
पपुलिस्टका लागि, विशेषगरी राजनीतिक वृत्तको दक्षिणपन्थमा रहेकाहरुका लागि यो एउटा अवसर हो । अहिले उनीहरु ‘दमनकारी’ (उनीहरुकै भाषामा) सत्ताविरुद्ध ¥याली गर्दैछन् र त्यो सत्ताले आफ्नो स्वार्थका लागि मानिसको स्वतन्त्रतालाई सिमित गरेको आरोप लगाउँदैछन् ।
विशेषगरी इटली, फ्रान्स र स्पेनमा रहेका दक्षिणपन्थी पपुलिस्टहरुका हकमा यो सत्य हो, उनीहरुले महामारी उच्चमा छँदा आफुलाई लो प्रोफाइलमा राखेका थिए । र, अहिले मानिसको स्वतन्त्रतामा बिना आधार अंकुश लगाउने तदाकथित ‘दमनकारी’ सत्ताविरुद्ध प्रतिरोध गर्न भन्दै उनीहरु तम्तयार अवस्थामा छन् ।
सत्तामा ‘स्वतन्त्रतावादी पपुलिस्ट’
नेतृ डियाज आयुसो ‘फ्रिडम पपुलिजम’ को लाभ उठाउने पहिलो युरोपेली नेता हुन् । उनको निर्वाचन सफलताको कारण बुुझ्दा कसरी यो नयाँ ब्रान्डको पपुलिजम उदायो र यसले युरोपेली राजनीतिक वृत्तमा निकट भविष्यमा कस्तो असर गर्छ भन्ने बुझ्न सहज हुन्छ ।
स्पेनमा पेड्रो सान्चेजको समाजवादी सरकारले तुलनात्मक रुपमा महामारीको व्यवस्थापन राम्ररी ग¥यो । उनले राष्ट्रिय विपद् घोषणा गरेका थिए, जो मेइको सुरुवातमा समाप्त भयो । र, देशको स्वास्थ पूर्वाधारमा दबाब कम गर्न तथा महामारीका कारण हुने मानविय क्षति कम गर्नका लागि आवश्यक सबै कदम चाल्न उनले स्थानीय नेताहरुलाई निर्देशन दिएका थिए ।
यद्यपी, स्पेनका हरेक स्वायत्त कम्युनिटीसँग महामारीको कडाईलाई जसरी सही लाग्छ, त्यसरी नै लागु गर्नसक्ने अधिकार छ । धेरैजसो कम्युनिटीका गर्भनरहरुले संघीय सरकारको निर्देशन पछ्याउँदै कडाखाले कोभिड १९ कडाई गरे । तर, आफ्नो क्षेत्रको अर्थतन्त्र जोगाउन चाहेको भन्दै डयाज अयुसोले त्यस्तो गरिनन् । नतिजा, स्पेनका अस्पतालहरुमा कोभिडका बिरामीले बेड नपाउने अवस्था निम्तिएका बेला, बाँकी स्पेन लकडाउनका विभिन्न चरणबाट गुज्रिरहेका बेला, म्याड्रिडमा भने बार, रेस्टुरेन्ट, सिनेमाघरलगायत स्थान घण्टौंसम्म खुलै थिए ।
शहरमा आयोजना हुने गोप्य पार्टीहरु रोक्नका लागि पनि डियाज अयुसोको प्रशासनले चासो देखाएन । नतिजा, स्पेनको राजधानी शहर युरोपकै रमाइलो गर्ने ठाउँ बन्यो । आफ्नो देशको कडा लकडाउन छल्न युरोपभरका पर्यटकहरुले म्याड्रिड घुम्न थाले । यस्तो गैरजिम्मेवार व्यवस्थापन रणनीतिले म्याड्रिड क्षेत्रलाई अति खतरापूर्ण क्षेत्र बनाइदियो ।
यस क्षेत्रका धेरै व्यापारीहरुले सुरुवातदेखि नै महामारी व्यवस्थापनमा डियाजले अपनाएको तरिकाको प्रशंसा गरेका थिए । तर, सुरुवातदेखि नै बामपन्थी नेतासहित आम सर्वसाधारण समेत डियाजको यो कदमको विरोध गर्दै छन् ।
तर, जब स्पनेमा खोप अभियानको प्रभाव देखिन थाल्यो, तब डियाज अयुसोले भाइरस नियन्त्रणका लागि सरकारले गरेका प्रयासको जस आफैं लिन खोजिन् र उनले आफ्ना रणनीतिहरु प्रभावकारी हुँदै गएको भन्दै आलोचकका मुख थुनिन् ।
गत मार्चमा जब क्षेत्रीय विपक्षीहरु उनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा थिए, तब डियाज अयुसोले ‘अर्ली’ चुनाव घोषणा गरिन् । उनले स्पेनको समाजवादी केन्द्रीय नेतृत्वबाट म्याड्रिडको स्वतन्त्रता रक्षा गर्ने भन्दै चुनावी अभियान चलाइन् ।
जबकी, यस बिन्दूमा स्पेनका समाजवादी संघीय नेताहरु पनि लकडाउनलाई कसरी सुरक्षित तरिकाले खुकुलो गर्न सकिन्छ भनेर तयारी गरिरहेका थिए । चाडैं नै स्पेनको दोस्रो वरियताका उपप्रधानमन्त्री तथा बामपन्थी पार्टी पोडेमोसका नेता पाब्लो इग्लेसियस पेडोमोसले पदबाट राजिनामा गरे म्याड्रिडमा डियाज अयुसोविरुद्ध उम्मेदवारी दिए । इग्लिसियसको उम्मेदवारीसँगै उनको अतिवादी बामपन्थी विचारधारलाई लक्षित गरेर अयुसोले ‘कम्युनिष्टविरुद्ध स्वतन्त्रता’ नारा नै बनाइन् ।
आफ्नो अभियानभर उनले विपक्षीलाई स्पेनिसहरुको आधारभूत अधिकार र स्वतन्त्रता खोस्ने कम्युनिष्ट अतिवादी भनेर प्रचार गरिन् । अयुसोले यसक्रममा महामारीले सिर्जित लकडाउनका कारण जनतामा बढ्दो निराशालाई भोट बढाउन प्रयोग गरिन् । उनले ट्वीटरमा म्याड्रिडका चलेका बार र रेस्टुरेन्टका मालिकहरुको भिडियोहरु पोस्ट गरिन् । जहाँ उनीहरु भन्दै थिए, ‘म्याड्रिड स्वतत्रता हो र हामी अहिलेसम्मकै सबैभन्दा धेरै जीवन्त छौं ।’
म्याड्रिडमा उनका समर्थकहरुले उनको नाममा चुनावका लागि विशेष बियर नै बनाएका थिए । जसको बोतलमा लेखिएको थियो,‘कसैलाई पनि तपाईको जीउनैली खोस्न नदिनुस् ।’
अन्त्इमा अयुसोको पपुलिस्ट रणनीति अति सफल देखियो र उनले इग्लिसियस र अन्य नेताहरुलाई फराकिलो अन्तरले हराइन् । अब अतिवादी दक्षिणपन्थी पार्टी भोक्ससँग मिलेर कम्तिमा उनले दुई वर्ष शासन गर्नेछिन् ।
महामारीको सुरुवातमा सत्तामा रहेकाहरुको पपुलिजम जति घातक थियो, डियाज अयुसो र अन्य धेरैले युरोप र युरोपबाहिर प्रचार गरेको ‘फ्रिडम पपुलिजम’ त्योभन्दा धेरै घातक र विध्वंशात्मक हुने संभावना छ ।
महामारीलाई अवसरका रुपम प्रयोग गरेर जनताको स्वतन्त्रतामा अंकुश लगाउने संस्थापन पक्षका राजनीतिज्ञ, विज्ञ र निजी संस्थाहरुविरुद्ध लडाँइ लडिरहेको दाबी फ्रिडम पपुलिस्टहरुको छ ।
उनीहरुले जनस्वास्थको खतराबाट मानिसलाई बचाउन लागिरहेका वैश्विक र स्थानिय संस्थालाई दिइने बजेट कटौती गर्ने प्रतिवद्धता गरेका छन् । यतिमात्रै होइन, सार्वजनिक सेवाहरुलाई ‘स्वतन्त्रताको नाममा’ सकेसम्म निजीकरण गर्ने उनीहरुले बताइरहेका छन् ।
यदी उनीहरुले सरकार गठन र सार्वजनिक नीति–निर्माणका लागि पर्याप्त जनसमर्थन पाए भने उनीहरुले त्यो सुरक्षा कवच ध्व्स्त गर्नेछन्, जसले कोभिड १९ महामारीको सुरुवातयता असंख्य जीवन बचाइरहेको छ ।
महामारीको युग बिस्तारै अन्त्यतर्फ जानसक्छ । तर, दुग्भार्य, उत्तिकै घातक बन्नसक्ने ‘फ्रिडम पपुलिजम’ को युग भर्खरै सुरु भएको छ ।
स्रोत : अलजजिरा