प्रा डा अक्कल देव मिश्र
त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ सालमा भएको हो। अहिले नेपालमा कुल १२ वटा बिश्वबिद्यालयहरु संचालित छन् । यी सबैभन्दा त्रि वि पुरानो र ठूलो बिश्वबिद्धालय पनि हो। ६२ वटा आङ्गिक र १,१०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस भएको त्रि वि मा झन्डै ७,००० प्राध्यापक, ५,००० कर्मचारी र ६,००,००० विद्यार्थी रहेका छन्। देशभरि नै फैलिएको यो बिश्वबिद्धालयमा करिब २,०८० वटा स्नातक र २,००० वटा स्नातकोत्तर बिषयमा पढाई हुने गर्दछ। बिश्वबिद्यालयको बरीयता मापनका कयौं मापदण्ड हुन्छन् जसमध्ये संख्यात्मक, गुणात्मक र संरचनात्मक बिधाको मूल्यांकन बढी प्रचलनमा देखिन्छ।
टाइम्स हायर एजुकेसन पत्रीकाले गरेको सर्बेक्षण अनुसार संख्यात्मक आधारमा त्रिभुवन विश्वविद्यालय विश्व वरीयताको उत्कृष्ट एक हजारभित्र परेको छ। त्रि वि विश्वमै एउटा मात्र यस्तो संस्था हो, जसले मुलुकको उच्चशिक्षा अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थीको भार थेगेको छ । शिक्षण र अनुसन्धान दुवै प्रकृति भएको, यति धेरै विधालाई समेटेको, केन्द्रीकृत व्यवस्थापन र केन्द्रीय परीक्षा प्रणाली भएको विश्वविद्यालय पनि विश्वमा बिरलै पाईन्छ । संख्यात्मक मापनको कसीमा अब्बल देखिए पनि गुणात्मकतामा भने त्रि वि को स्थान ६,६७६ मा अंकित रहेको छ। एशियामा भने त्रि वि को स्थान उत्कृष्ट ३०० भित्र पर्दछ।
उसो त यो बिश्वविद्यालय गुणात्मक, संरचनात्मक र स्वायत्तताका हिसाबले नेपाल मै पनि दोस्रो स्थानमा पर्दछ। विश्वस्तरीय विश्वविद्यालयको नाममा ज्ञानलाई प्रयोग गरेर केहि देशहरूले हैकम चलाएका छन् । भाषा र ब्यवस्थापन लाई समेत उत्कृष्टताको आधार बनाइएको छ। शीर्ष दुई सय मध्ये ५० प्रतिशत विश्वविद्यालय अंग्रेजीभाषी मुलुक मुख्यतः अमेरिका र बेलायतका छन् । अनुसन्धान र शिक्षणमा उत्कृष्ट भएर पनि विकसित मुलुकहरु जस्तै नर्वे, जर्मनी, फ्रान्स, जापान, स्विट्जर्ल्यान्ड, क्यानडा, कोरिया, चीन लगायतका मुलुकका बिश्वबिद्धालयहरु भाषाको कारणले वरीयताको सूचीमा पछाडि परेका छन्।
विश्वस्तरको विश्वविद्यालय हुन उत्कृष्ट अनुसन्धान, प्रभावकारी शिक्षण, ब्यावसायमुखी पाठ्यक्रम, प्राज्ञिक स्वतन्त्रता, स्वायत्त प्रशासन, दक्ष र चारित्रिक उत्पादन र पर्याप्त भौतिक सुविधाको मापन गरिन्छ। त्रि वि गुणात्मक भन्दा संख्यात्मक बिकासमा अग्रसर देखिन्छ। विश्वविद्यालय अनुदान आयोगको रिपोर्टअनुसार नेपालमा हरेक दश वर्षमा सम्बन्धनप्राप्त क्याम्पसहरूको संख्या दुई गुणाले बढेको देखिन्छ। यही गति कायम रहे आगामी दस बर्षमा सम्बन्धनप्राप्त क्याम्पसहरूको संख्या तीन हजार पुग्ने अनुमान गर्न सकिन्छ। तर, विगत दश वर्षको विद्यार्थी भर्नादर हेर्दा सन् २०३० सम्ममा प्रतिक्याम्पस १०० विद्यार्थी मात्रै हुनेछन् ।
अहिले पनि त्रि वि का झन्डै ४०० क्याम्पसमा ७० भन्दा कम विद्यार्थी छन्। यसबाट त्रि वि विश्वस्तरको विश्वविद्यालय बन्ने सन्दर्भमा गम्भीर चुनौती खडा हुन सक्छ। त्रि वि का क्याम्पस आर्थिक, प्रशासनिक र प्राज्ञिक हिसाबले स्वायत्त देखिदैनन। प्राज्ञिक स्वायत्तता, निश्पक्ष मूल्याकंन र कुशल प्रशासन आदि को अभाव ब्याप्त देखिन्छ। चरम राजनीतिकरण, निर्देशित प्रशासन, ढिलासुस्ती, अपारदर्शीता र केन्द्रीकृत परीक्षा प्रणाली बरीयता प्रवर्द्धनका बाधक तत्व हुन। विद्यार्थीको उत्तीर्ण दर औसतमा ३५- ४० प्रतिशत र तह पूरा नगर्ने ५० प्रतिशत रहेको विश्वविद्यालयको गुणस्तर माथिल्लो दर्जामा पुर्याउन ठुलो चुनौती देखिन्छ।
केन्द्रीकृत लिखित परीक्षा प्रणालीले गर्दा प्राध्यापक र विद्यार्थीका बीच सोझो सम्बन्ध हुन पाउदैन जसले गर्दा उत्तरदायी र जवाफदेहितामा ह्रास आएको अवस्था छ। सरकारको प्रत्यक्ष संलग्नता भन्दा बोर्ड अफ ट्रस्टीको निर्माण गरी त्यसको माध्यमबाट बिज्ञता र दक्षताको आधारमा कार्यसम्पादन तथा पदाधिकारी नियुक्त गर्ने पद्धति उपयुक्त हुन्छ। बिश्वबिद्धालयको गुणात्मक प्रवर्द्धन नभए सम्म गणितीय रूपको वरीयताले तात्विक उपलब्धि हासिल गर्न सक्दैन।