देउवाको सभापतिकै हैसियतमा अपिल, समानान्तर वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा अपिल जारी गर्दै आफ्नो पक्षले अघि बढाएको समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बुधबारदेखि वडा तहको अधिवेशन सुरु गरेको हो। देउवाले देशभरका वडामा सुरु भएको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई भव्य रूपमा सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्। उनले पार्टीको लामो इतिहास र लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै १५औँ महाधिवेशनलाई महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।

देउवाले आफ्नो अपिलमा देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरेर सुरु भएको अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। साथै, पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत र एकढिक्का बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। देउवा पक्षले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाभन्दा अलग्गै आफ्नो अधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र सातै प्रदेशको अधिवेशन मंसिर ४ गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित आफ्नो कार्यतालिका निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ। उक्त पक्षले आफ्नो अधिवेशन प्रक्रियालाई १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल र कांग्रेस विधानसँग जोडेर अघि बढाएको जनाएको छ। उता, नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा भने १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनसहित केन्द्रीय महाधिवेशनको छुट्टै कार्यतालिका प्रकाशित छ। उक्त कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ २४, पालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्