बागलुङ- बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । विभिन्न स्थानमा पहिरोले घर तथा संरचना पुरिँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विपद्मा परी एक जना अझै बेपत्ता छन् भने केही घाइते भएका छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोकाको मृत्यु भएको हो । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए ।
जिल्लामा लगातारको वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीको तथ्यांक छ । शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । त्यसपछि आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको तथा एक जना बेपत्ता रहेको जनाइएको छ । त्यस्तै, निसीखोला गाउँपालिकामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा पहिरोले घर तथा बस्ती प्रभावित बनाएपछि स्थानीयवासीमा त्रास बढेको छ । बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका काम भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ । जोखिमयुक्त क्षेत्रमा थप पहिरो जान सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ । उद्धार टोलीले सम्भावित जोखिम भएका स्थानमा निगरानी बढाएको जनाइएको छ।





