कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि, भोटेकोशी बाढीबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा १७ जना नेताले आ-आफ्नो धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी नेताहरूले आफ्नो धारणा राख्ने तथा समसामयिक राजनीतिक र संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँगको भेटघाट तथा स्थानीयसँगको छलफलबाट प्राप्त जानकारी बैठकमा प्रस्तुत गरेका थिए । उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक राहत तथा पुनर्स्थापनाका विषयमा जानकारी गराएका थिए ।

कांग्रेसले भोटेकोशी बाढीपछिको खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनामा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ । यससँगै बाढी प्रभावित क्षेत्रमा राज्यका तर्फबाट भइरहेका काम, विस्थापित नागरिकको व्यवस्थापन तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

बैठकमा कांग्रेसको आगामी महाधिवेशन, संगठनात्मक गतिविधि तथा पछिल्लो राजनीतिक परिस्थितिबारे समेत छलफल हुने बताइएको छ । कार्यसम्पादन समिति बैठकमा नेताहरूले पार्टीको आगामी रणनीति र समसामयिक विषयमा आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्