काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्। बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्व नै नेपालको मौलिक पहिचान र गौरवपूर्ण परम्परा भएको उल्लेख गरेका छन्।
उनले भने, “यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था सुनिश्चित गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक आग्रह गर्दछु।”
राष्ट्रपतिले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुरक्षा पूर्ववत् अवस्थामा फर्काउन र नागरिकले सुरक्षित तथा शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गरेका छन्। अपिलमा उनले समुदायबीचको एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै कुनै पनि गतिविधिले सामाजिक सद्भावमा खलल पुग्न नदिन सचेत रहन अनुरोध गरेका छन्।
राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई पनि आग्रह गरेका छन्। साथै, घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।



