त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौं । सरकारले भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ। काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति रहेका थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका अनुभवी प्राध्यापकका रूपमा परिचित छन्। मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थापाले प्रारम्भिक रूपमा सरकारी सेवामा काम गरेका थिए। त्यसपछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा प्रवेश गर्दै स्नातकोत्तर र विद्यावारिधि अध्ययन पूरा गरेका हुन्। उनको अनुसन्धान टर्बाइन प्रविधि, हाइड्रोलिक मेसिनमा बालुवाका कणले हुने क्षरण तथा ऊर्जा प्रणालीसँग सम्बन्धित रहेको छ।

तीन दशकभन्दा बढी समय शैक्षिक क्षेत्रमा सक्रिय थापाले काठमाडौं विश्वविद्यालयमा प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै उपकुलपतिसम्मको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा गुणस्तर सुनिश्चितता, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा नवीन शैक्षिक कार्यक्रम विस्तारमा विशेष जोड दिइएको थियो।

उनको नेतृत्वमा योग शिक्षा, सम्पदा अध्ययन, हस्तकला तथा डिजाइनजस्ता नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिएका थिए। साथै शिक्षक तालिम, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग शैक्षिक सहकार्य र विदेशी विद्यार्थी आकर्षित गर्ने पहल पनि अघि बढाइएको थियो।

जलविद्युत्, हरित हाइड्रोजन, ऊर्जा संरक्षण तथा हाइड्रो-मेकानिकल प्रणालीसम्बन्धी अनुसन्धानमा सक्रिय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सयभन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित गरेका छन्। उनी विभिन्न शैक्षिक तथा वैज्ञानिक संस्थामा नेतृत्वदायी भूमिकामा समेत रहेर काम गरिसकेका छन्। अब त्रिभुवन विश्वविद्यालयको नेतृत्व सम्हालेसँगै शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन, समयमै परीक्षा र नतिजा प्रकाशन, अनुसन्धान प्रवर्द्धन तथा विश्वविद्यालय सुधारका चुनौतीहरू सामना गर्दै विश्वविद्यालयलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने जिम्मेवारी थापामाथि रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्