चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। आगामी असार ७ देखि ९ गतेसम्म पूर्वी चितवनको रत्ननगरमा हुने तीनदिने महाधिवेशनका लागि सात हजारभन्दा बढी सहभागी अट्ने अस्थायी सभाहल (डोम) निर्माण कार्य सुरु गरिएको छ।
रत्ननगर–टाँडीस्थित होटल स्टार चितवनको सभाकक्षसँगै रहेको खाली जग्गामा बाँसको संरचनामा आधारित विशाल डोम निर्माण भइरहेको छ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतम का अनुसार करिब ३२ हजार ४८० वर्गफिट क्षेत्रफलमा निर्माण भइरहेको उक्त डोममा सातदेखि आठ हजारसम्म कुर्सी व्यवस्थापन गर्न सकिनेछ।
डोमको बीच भाग २९ फिट र छेउतर्फ १६ फिट अग्लो रहनेछ। पानी नचुहिने उच्चस्तरीय टेन्ट तथा त्रिपाल प्रयोग गरी संरचना तयार गरिँदैछ। महाधिवेशनस्थललाई गर्मीबाट सहज बनाउन ७० वटा ठूला पङ्खा र २० वटा कुलर जडान गरिने तयारी गरिएको छ। मुख्य डोम बाहिर थप टेन्टमार्फत सहभागीका लागि अतिरिक्त बस्ने व्यवस्था पनि मिलाइनेछ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा सहुलियत दरमा आवास व्यवस्थापनको पहल भइरहेको छ। उद्घाटन समारोहका दिन टिकौलीचौरमा सवारी पार्किङको व्यवस्था गरी कार्यक्रमस्थलसम्म विशेष यातायात सेवा सञ्चालन गरिने जनाइएको छ।
रास्वपाका प्रवक्ता मनिष झा ले असार २ गतेदेखि महाधिवेशन सचिवालय सञ्चालनमा आएको र असार ४ गतेदेखि पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरू महाधिवेशनस्थलमा रहने जानकारी दिनुभयो।
करिब तीन हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेतासहित छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ। महाधिवेशनमा पार्टी विधानमाथि छलफल, सांगठनिक समीक्षा तथा नयाँ नेतृत्व चयनका प्रक्रिया सम्पन्न गरिने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।





