काठमाडौँ, असार ३ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिन तथा गर्मीको प्रभाव कायम रहने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





