काठमाडौँ । राष्ट्रियसभाको चालू अधिवेशन भोलि राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिएको जानकारी दिइएको छ ।
सरकारले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको तथा तत्कालका लागि कुनै महत्त्वपूर्ण विधेयक बाँकी नरहेको जनाउँदै अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।
चालू अधिवेशनबाट राष्ट्रियसभाले पर्यटन विधेयक र चलचित्र विधेयक पारित गरेको छ । यस्तै, सामाजिक सञ्जाल विधेयक, २०८१ भने फिर्ता गरिएको छ ।
उल्लेखनीय छ कि चालू अधिवेशन यही माघ ४ गतेदेखि प्रारम्भ भएको थियो ।








