कैलाली । फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट युवा नेता मोहनदेव मिश्रले उम्मेदवारीलाइ नयाँ उर्जा, जोस तथा युवा पिँढीको भावना बुझ्ने उम्मेदवारको रुपमा हेरिएको छ । उहाँको उम्मेदवारीसँगै क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक बहस र उत्साह थपिएको छ।
लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका मिश्रलाई युवा पुस्ताको प्रतिनिधि स्वरका रूपमा हेरिएको छ। स्थानीय स्तरका विभिन्न सामाजिक अभियान, युवामुखी कार्यक्रम तथा जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले अब राष्ट्रिय स्तरमा आवाज उठाउने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हो।
उम्मेदवारी घोषणा गर्दै मिश्रले कैलाली–४ का विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने बताउनुभयो। “अब युवाले नेतृत्व लिनुपर्ने समय आएको छ। हाम्रो क्षेत्रका समस्या समाधानका लागि स्पष्ट योजना र इमानदार प्रतिबद्धता आवश्यक छ,” उहाँले भन्नुभयो, “जनताको विश्वास जितेर संसदमा पुग्ने र क्षेत्रको आवाज सशक्त रूपमा उठाउने मेरो अठोट छ।”
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले पनि मिश्रको उम्मेदवारीलाई परिवर्तनको संकेतका रूपमा लिएको जनाएको छ। पार्टीका स्थानीय नेताहरूका अनुसार मिश्रको स्वच्छ छवि, ऊर्जाशील नेतृत्व र जनतासँगको निकट सम्बन्धले निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास गरिएको छ।
कैलाली–४ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। तर युवा मतदाताको ठूलो संख्या रहेको यस क्षेत्रमा मिश्रको उम्मेदवारीले विशेष चर्चा पाएको छ। स्थानीय बासिन्दाले पनि नयाँ सोच र दृष्टिकोणसहित अघि बढ्न सक्ने नेतृत्वको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन्।
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना एजेण्डा र योजनासहित मतदातामाझ पुग्ने क्रम तीव्र बन्दै गएको छ। यस्तो अवस्थामा युवा नेता मोहनदेव मिश्र समेत आफ्नो एजेण्डा लिएर मतदातासँग साक्षात्कारमा होमिनु भएको छ ।







