काठमाडौं – देशकै जेठो र सबैभन्दा बढी विद्यार्थी अध्ययनरत त्रिभुभवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसले आगामी दिनमा शैक्षिक विकासमा अझै नयाँ आयाम ल्याउदैँ अघि बढ्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। ४४ वटा केन्द्रीय विभागमार्फत देशभरको शैक्षिक गतिविधिको नीति निर्माण, निर्देशन तथा अनुगमन गर्दै आएको विश्वविद्यालयले पछिल्लो समय भौतिक पूर्वाधार, गुणस्तर सुधार र शैक्षिक स्रोत–साधन विस्तारमा तीव्रता दिएको जनाएको छ।
विश्वविद्यालय प्रशासनका अनुसार प्रत्येक केन्द्रीय विभागले आ–आफ्नो विषयगत क्षेत्रमा देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई नीतिगत मार्गदर्शन, शैक्षिक निर्देशन र नियमित अनुगमन गर्दै आएको छ। यसले समग्र उच्च शिक्षालाई एकीकृत र व्यवस्थित बनाएको दाबी गरिएको छ।
क्याम्पस परिसरमा सौन्द्रीकरणका कार्यहरू, गुणस्तर सुधार कार्यक्रम, नयाँ शैक्षिक भवन तथा प्राध्यापक–कर्मचारी निवास निर्माण, सडक बत्ती जडान, सडक पेटी व्यवस्थापन र बगैचा निर्माण जस्ता कार्यहरू सम्पन्न हुँदै आएका छन्। विश्वविद्यालय प्रशासनका अनुसार यी पूर्वाधार विकासका कामहरूले अध्ययन–अध्यापनका लागि अनुकूल वातावरण निर्माण गर्न सहयोग पुर्याएको छ।
पुस्तकालयमा अत्यधिक संख्यामा पुस्तक, अनुसन्धान सामग्री तथा श्रव्य–दृश्य सामग्रीको व्यवस्था गरिएको छ। डिजिटल स्रोत, इ–लाइब्रेरी र मल्टिमिडिया सामग्रीमार्फत विद्यार्थी र अनुसन्धानकर्तालाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउदैँ आएको छ। यस कारण विश्वविद्यालय अन्य संस्थाभन्दा फरक र विशिष्ट पहिचान बनाउन सफल भएको दाबी गरिएको छ।
यसै सन्दर्भमा त्रिवि, विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा. डा. अक्कलदेव मिश्रले आगामी दिनमा विश्वविद्यालयलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामी देशकै जेठो विश्वविद्यालयका रूपमा ऐतिहासिक जिम्मेवारी बोकेका छौँ। ४४ वटा केन्द्रीय विभागमार्फत देशभरको शैक्षिक प्रणालीलाई समन्वय गर्दै अघि बढिरहेका छौँ। पूर्वाधार विकास, गुणस्तर सुधार र आधुनिक शैक्षिक स्रोत–साधनको विस्तारमार्फत विश्वविद्यालय क्याम्पसलाई विश्वविद्यालयभित्रकै नमुना शैक्षिक केन्द्र बनाउने हाम्रो लक्ष्य हो। आगामी दिनमा यसलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हबका रूपमा स्थापित गर्ने दिशामा हामी दृढतापूर्वक अघि बढ्नेछौँ।”
प्रा. डा. मिश्रले विश्वविद्यालयको समग्र विकासका लागि प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाको सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा विशेष ध्यान दिइनेछ।
विश्वविद्यालय प्रशासनले दीर्घकालीन योजनाअनुसार संरचनागत सुधार, शैक्षिक नवीनता र प्रविधिमैत्री वातावरण निर्माण गर्दै विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।







