आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उल्लेखनीय सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार २६ वर्षीय ऐरी ब्याटिङतर्फ ४ स्थान सुधार गर्दै ७२औँ स्थानमा पुगेका छन् भने बलिङतर्फ ५ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका छन्।
टी–२० बलिङ वरीयतामा लेग स्पिनर सन्दीप लामिछानेले १० स्थान सुधार गर्दै ७४औँ स्थान हासिल गरेका छन्। यस्तै, टी–२० ब्याटिङ वरीयतामा नेपाली टोलीका कप्तान रोहित पौडेल ३ स्थान सुधारसहित ७५औँ स्थानमा पुगेका छन् भने कुशल भुर्तेल ४ स्थान उक्लिँदै ७७औँ स्थानमा पुगेका छन्।
टी–२० अलराउन्डर वरीयतामा भने दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमै यथावत् छन्। यसै सूचीमा कुशल भुर्तेल २ स्थान सुधार गर्दै २३औँ र रोहित पौडेल १ स्थान सुधार गर्दै ४२औँ स्थानमा उक्लिएका छन्।







