काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली तथा अङ्ग्रेजी नामको हिज्जे (Spelling) एकरूपता कायम गर्न निर्देशन दिएको छ । स्थानीय तहको नाम फरक–फरक हिज्जेमा प्रयोग हुँदा सरकारी कागजात तयार गर्ने क्रममा सेवाग्राहीले झन्झट भोग्नुपरेको गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो । मन्त्रालयको सङ्घीय मामिला शाखाले हालै परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे मन्त्रालयमा पठाउन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार संघ, प्रदेश तथा स्थानीय तहबाट जारी हुने नागरिकता, राहदानी, जन्म–मृत्यु–विवाह दर्ता, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्रजस्ता महत्वपूर्ण कागजातमा स्थानीय तहको नाम फरक–फरक हिज्जेमा लेखिँदा विवरण बाझिने समस्या देखिएको छ । विशेषगरी अङ्ग्रेजी नाम लेख्दा विभिन्न निकायले फरक हिज्जे प्रयोग गर्दा कानुनी तथा प्रशासनिक जटिलता उत्पन्न भएको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाल राजपत्रमा प्रकाशित नामसँग मेल खाने गरी अक्षर, भाव र वर्णविन्यास मिलाउन स्पष्ट रूपमा भनिएको छ । प्रत्येक स्थानीय तहले आफ्नो कार्यपालिकाबाट आधिकारिक निर्णय गराई तोकिएको ढाँचामा विवरण उपलब्ध गराउनुपर्नेछ । सो ढाँचामा राजपत्रमा प्रकाशित नाम, सुधार गर्नुपर्ने विषय, कायम गरिनुपर्ने नेपाली नाम, अङ्ग्रेजी नाम तथा वेबसाइटमा प्रयोग हुने नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयले सबै स्थानीय तहबाट विवरण सङ्कलन गरेपछि सरकारी प्रणाली, डिजिटल पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे प्रयोग गर्ने योजना बनाएको जनाएको छ । स्थानीय तहहरूले तयार पारेको विवरण मन्त्रालयको सूचना प्रविधि शाखा, आधिकारिक इमेल तथा तोकिएको पोर्टलमार्फत बुझाउनुपर्नेछ ।





