सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’का रूपमा चिनिएको क्षेत्रको पहिचान उभ्याउँदै तीनदिने ‘जुनार प्रबद्धन मेला–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रतिनिधिद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको महोत्सवले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सिन्धुलीको जुनारलाई स्थापित गर्ने लक्ष्य बोकेको थियो। महोत्सवमा किसानहरूले आफ्नै बगैँचाबाट उत्पादन गरेका जुस, स्क्वास, जाम, जेली, क्यान्डी लगायत २१ प्रकारका जुनार–आधारित परिकार प्रदर्शनी तथा बिक्रीमा राखेका थिए । साथै कृषक, कृषि विज्ञ तथा सहकारी प्रतिनिधिबीच बगैँचामा जुनार प्रवर्द्धन, रोग–किरा नियन्त्रण, गुणस्तर सुधार, बजार विस्तार तथा प्रविधि हस्तान्तरणबारे विषयगत छलफल तथा अन्तरक्रिया गरिएको थियो।
गोलन्जोर क्षेत्रलाई सरकारले ‘जुनार सुपर जोन’ घोषणा गरिसकेको भए पनि कृषि सडक व्यवस्थित नहुँदा किसानहरू वर्षौंदेखि समस्या भोगिरहेका छन् । विशेषगरी धापचौकीदेखि बाहुनतिल्पुङसम्मको कृषि करिडोर कालोपत्रे नहुँदा ढुवानीमा कठिनाइ हुने, फल कुहिने, मूल्य घट्ने, बजारमै पुर्याउन ढिलाइ हुनेजस्ता समस्याले किसानलाई आर्थिक क्षति पुर्याइरहेको उद्घाटन तथा समापन दुवै सत्रमा उठाइयो । गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले प्रदेश तथा संघीय सरकारको सक्रियता विना कृषि सडक सुधार सम्भव नहुने भन्दै महोत्सव नै यसतर्फ ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको बताए।

सिन्धुलीमा करिब एक हजार एक सय हेक्टरमा जुनार खेती भइरहेको छ, जसमा करिब ७५० हेक्टर क्षेत्रमा व्यावसायिक खेती हुँदै आएको छ । गोलन्जोर गाउँपालिकामा मात्रै पनि एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा जुनार खेती विस्तार भएको छ, जसका सातै वडामा जुनार र सुन्तलाको उत्पादन हुन्छ । कतिपय किसानका बगैँचामा एक हजार सात सयसम्म जुनारका बोट छन्, र एउटा बोटबाट वार्षिक २१ हजार रुपैयाँसम्म आम्दानी हुने तथ्यांक छ । आकर्षक आम्दानीका कारण परम्परागत धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढी फाइदा हुने भएपछि स्थानीय किसानहरू ती बाली छाडेर व्यावसायिक रूपमा जुनार–सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा गोलन्जोर गाउँपालिकाबाट मात्रै ३४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको जुनार बिक्री भएको कृषि विकास शाखाको तथ्यांक छ भने जिल्लाभर वार्षिक कारोबार ३६ करोड ६४ लाख रुपैयाँ पुगेको छ । तर जिल्ला जुनार सहकारी संघका अनुसार वास्तविक कारोबार सरकारी तथ्यांकभन्दा दोब्बर, करिब ७५ करोड रुपैयाँसम्म पुगेको छ । गोलन्जोर र सिन्धुलीका जुनार काठमाडौं, हेटौँडा, जनकपुर, पोखरा, विराटनगर, झापा लगायत शहरहरूमा मात्र नभई भारतीय सीमाका बजारसम्म पनि निर्यात हुँदै आएको छ।

जुनारको उत्पादन र संरक्षणका लागि जिल्लामा हाल १५ वटा आधुनिक चिस्यान केन्द्र सञ्चालनमा छन्, जसमा करिब १,२०० मेट्रिकटनसम्म जुनार भण्डारण गर्न सकिन्छ । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखिएको जुनार वैशाखसम्म समेत सुरक्षित राख्न सकिने भएकाले किसानलाई मूल्य स्थिर राख्न, मागअनुसार आपूर्ति गर्न र नोक्सानी घटाउन सहज भएको छ । जलवायु परिवर्तनका कारण विगतमा कम उचाइमा फल्ने जुनार क्रमशः माथिल्लो उचाइतर्फ सर्न थालेको कृषि विज्ञहरूले बताएका छन्।
हाल महाभारत क्षेत्रका बगैँचामा पुगेर आफ्नै हातले जुनार–सुन्तला टिपेर खाने आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ, जसले ग्रामीण पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना देखाएको छ। स्थानीय होटेल व्यवसाय, यातायात, फलफूल व्यापारी तथा सहकारीहरूलाई पनि यसले प्रत्यक्ष रूपमा आर्थिक फाइदा पुर्याएको छ।

महोत्सवको समापन कार्यक्रममा किसानहरूले जिल्ला स्तरमै जुनार अनुसन्धान केन्द्र स्थापना, रोग–किरा नियन्त्रण प्रविधि विकास, बजार पहुँच विस्तार, चिस्यान केन्द्र थप वृद्धि, उन्नत नर्सरी तथा प्रविधि हस्तान्तरण सुनिश्चित गर्न माग गरेका थिए। गाउँपालिकाका अध्यक्ष शंकरराज बरालका अनुसार यस वर्षको महोत्सवले सिन्धुलीको पहिचान बोकेको जुनारलाई विश्व स्तरीय ब्रान्डका रूपमा अघि बढाउने, कृषि सडक सुधारका लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउने र किसानको उत्पादनलाई सुरक्षित रूपले बजारसम्म पुर्याउन आवश्यक नीति तथा पूर्वाधार निर्माणको आवश्यकता मुखरित गरेको छ।
यसरी सम्पन्न भएको ‘जुनार महोत्सव–२०८२’ ले सिन्धुलीको जुनारलाई केवल स्थानीय सम्भावना नभई राष्ट्रिय र अन्तरराष्ट्रिय बजार–सामर्थ्य भएको प्रमुख फलको रूपमा स्थापित गर्ने मार्ग प्रशस्त गरेको आयोजक गोलन्जोर गाउँपालिकाले जनाएको छ।






