“जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा ठूलो चुनौती: प्रधानमन्त्री ओली

काठमाडौं, २ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई वर्तमान युगको सबैभन्दा ठूलो चुनौतीको रूपमा चिनाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभाव पृथ्वी, जनता र समृद्धिमा गहिरो असर पारिरहेको बताए।

“जलवायु परिवर्तन अब सुदूर भविष्यको खतरा रहेन, यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो,” प्रधानमन्त्री ओलीले भने, “यस संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन, तर यसको सबैभन्दा कठोर परिणाम हामीजस्ता मुलुकले नै भोगिरहेका छन्।”

उनले नेपालले जलवायु संकट सिर्जना नगरे पनि त्यसको चरम प्रभाव भोग्नुपरेकोप्रति चिन्ता व्यक्त गरे।
“हिमनदीहरू पग्लिरहेका छन्, वर्षा अनिश्चित बन्दै गएको छ, पहिरोले घर–बास बगाइरहेका छन्, बाढी र खडेरी अकस्मात आइरहेका छन्,” उनले भने, “तर अझै पनि हामी डटिरहेका छौं।”

प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको योगदान उल्लेखनीय रहेको बताउँदै हिमालहरूको संरक्षणले पृथ्वी, महासागर र मानवताको रक्षा गर्न सकिने धारणा राखे।

उनको भनाइमा, “हिमालहरू केवल प्राकृतिक सम्पदा होइनन्, तिनको अस्तित्वले मानव सभ्यता, जैविक विविधता र मौसम प्रणालीमा गहिरो प्रभाव पार्छ।”

प्रधानमन्त्री ओलीको सम्बोधनले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा नेपालजस्ता हिमाली मुलुकहरूको आवाज अझ सशक्त बनाउनु आवश्यक रहेको सन्देश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्