पत्रकार खेम भण्डारीलाई एक महिना कैद, १ लाख क्षतिपूर्ति र १० हजार जरिवाना

काठमाडौँ — कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले गाली बेइजती (मानहानी) मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।

जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार अदालतले पत्रकार भण्डारीमाथि दर्ता भएको मानहानी मुद्दामा दोषी ठहर गर्दै सो सजाय तोकेको हो। जानकारी अनुसार भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन रूपमा विभिन्न व्यक्तिहरूमाथि आरोप लगाउँदै आएका थिए।

पूर्व एसएसपी तथा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले भण्डारीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। भण्डारीले सामाजिक सञ्जाल र समाचारमार्फत किरण राज विष्टलाई समेत जोडेर अभद्र भाषा र बेइज्जतीपूर्ण सामग्री सार्वजनिक गरेका थिए।

वि.सं. २०७५ साल साउन १० गते कञ्चनपुरको उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साउन ११ गते उनी घरनजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्। उक्त घटनापछि पत्रकार खेम भण्डारीले विभिन्न माध्यममार्फत तथ्यबिना अभिव्यक्तिहरू दिँदै आएका थिए। उनले सामाजिक सञ्जालको समेत दुरुपयोग गर्दै व्यक्तिगत मानमर्दन हुने किसिमका स्टाटस र सामग्री सार्वजनिक गरेको अदालतमा प्रमाणित भएको हो।

यस फैसलालाई पत्रकारिताको आडमा व्यक्तिको प्रतिष्ठामा आघात पुर्‍याउने क्रियाकलापविरुद्धको कानुनी चेतावनीका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्