गभर्नर छनोटका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन

काठमाडौं, जेठ १ — सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि गठन गरिएको समिति खारेज गर्दै नयाँ समिति बनाउने निर्णय गरेको हो।

नयाँ सिफारिश समितिमा संयोजक पौडेलसहित पूर्वगभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यका रूपमा पोषराज पाण्डे नियुक्त भएका छन्। यसअघि समितिका विज्ञ सदस्य विश्व पौडेलले राजीनामा दिएपछि पाण्डेलाई समेटिएको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सरकारले गएको चैत ११ गते पहिलोपटक गभर्नर सिफारिश समिति गठन गरेको थियो। तर एक महिनासम्म पनि बैठक नबसेको र समिति निष्क्रिय बनेको भन्दै सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए। त्यसपछि सरकारद्वारा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समितिमा ल्याइएको हो।

गएको चैत २५ गतेदेखि राष्ट्र बैंकको गभर्नर पद खाली रहेको छ। हाल वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्