जुवातास, लंगुरबुर्जा, कौडाहरु खेल्न खेलाउन कानूनी रुपमा बन्देज छ । कानूनी रुपमा बन्देज गरिएको यस्ता कार्य अहिले बाटोमा हिँड्दा जताततै जुवातास, लंगुरबुर्जा, कौडाहरु खेलेको वा खेलाएको देखिन्छ । होटल, गेस्ट हाउस, रेस्टुरेन्ट, घरदेखि सार्वजनिक स्थानमा समेत यस्ता कार्य भइरहेको देखिन्छ । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड तिहार शुरु भइसकेको छ । तिहार लागेसँगै जुवातास, लंगुरबुर्जा, कौडा खेल्ने खेलाउने बढ्नुका साथै पटका, आतिसबाजीजस्ता विस्फोष्टक पदार्थ समेत पड्काउन थालिएको छ । जबकी यी वस्तुको आयात, बेचबिखन, उत्पादन र प्रयोग कानूनी रुपमा निषेध गरिएको छ ।
दिनदहाडै पटका पड्काउँदा समेत प्रहरी प्रशासन मौन बसिरहेको छ । पटकाका कारण जनधनको ठूलो क्षति समेत हुनसक्छ । तर, यस क्षतिलाई न्यूनीकरण गर्न वा सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न प्रहरीले चासो नदिएको देखिन्छ । यता, तिहार लागेसँगै झिलिमिलि बत्तीले गाउँ वा शहर नै उज्यालो भएको छ । तर, त्यस्ता बत्तीको जथाभावी प्रयोग वा होसियारी नअपनाउँदा दुर्घटना निम्त्याउने विगतका अधिकांश घटनाले देखाउँछ । यसतर्फ पनि आम नागरिक र सम्बन्धित निकाय दुवै जिम्मेवार हुन आवश्यक छ । चाडपर्व लागेसँगै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा झैझगडा गर्नेजस्ता गतिविधि पनि बढ्न थालेको छ । त्यस्तै, कुनै पनि संघसंस्था, राजनीतिक दलका कार्यकर्ता वा अन्य व्यक्तिहरु समूह बनाई देउसी भैलो खेल्न जानुका साथै उनीहरुले मागेकै रकम घरधनीले दिनुपर्ने अवस्था निम्तिएको छ । देउसी भैलो हाम्रो परम्परागत संस्कृति पनि हो । यो पैसाका लागि होइन नेपाली संस्कृति जोगाउन खेलिने हो ।
यद्यपि, केही वर्षयता देउसी भैलोको नाममा विकृति मौलाउनुका साथै मागेजति पैसा नदिएमा गालीगलौज गर्नेजस्ता गतिविधि पनि बढ्दै गएको छ । देउसी भैलो खेल्न आउँदा मादक पदार्थ वा लागू औषध सेवन गरी आएको पनि पाइन्छ । छरछिमेकले सुन्नै नसक्ने गरी फोहोरी गीत गाउँछन् । पैसाकै निम्ति मात्र दिनरात देउसी भैलो खेलिन्छ । अहिले गृहमन्त्री रमेश लेखक छन् । गृह मन्त्रालयले राति ७ बजेपछि देउसी भैलो खेल्न नपाइने भनेर ७७ वटै जिल्लाका सिडियो कार्यालयलाई परिपत्र गरेको छैन । देउसी भैलो खेल्न जाँदा दुई समूहबीच झगडा हुँदा ज्यानै समेत जाने गरेको छ । त्योसँगै देउसी भैलो खेलेर उठेको पैसा भागबण्ड लगाउँदा पनि चित्त नबुझेपछि कुटाकुट गर्ने गरेको छ । महिला/पुरुष, युवक/युवती, किशोरी/किशोरहरु मिलेर देउसी भैलो खेल्न जान्छन् । यस्तो अवस्थामा कतिपय पुरुषले महिलाको संवेदनशील अंगमा छुने तथा यौन दुव्र्यवहार गर्ने गर्छन् । त्यस्तै, युवक/युवती, किशोर/किशोरी पनि मायामा पर्ने र पछि बलात्कार हुने गरेकोजस्ता घटना पनि थुप्रा छन् । देउसी भैलो खेल्न गएकालाई सम्बन्धित घरधनीहरुले संगुन भनेर जाँडरक्सी समेत खान दिने गरेका छन् ।
यसका कारण रक्सी खाएर होश नै गुमाएपछि मानिसले जे पनि गर्न सक्छ । देउसी भैलो खेल्न आएका समूह कस्तो खालका छन् ? भनेर नहेरी वा नसोची घरधनीहरु महँगा सुन गहना लगाएर अगाडि जान्छन् अनि पैसाको बिटो चढाउँछन् । तर, उनीहरुले सोच्दैनन् कि भोलि त्यँही समूहले हामीलाई लुट्न सक्छन् कि ? हरेक नागरिकले आफ्नो ज्यानको आफैंले सुरक्षा गर्नुपर्छ । र, राज्यको ऐन, कानून मान्नुपर्छ । बिडम्वना, यहाँ त आफ्नो धनको धाक देखाइन्छ । अनि घटना घटेपश्चात् राज्य गुहारिन्छ । हामी नेपालीले पढलेख त गयौं । यद्यपि, हामीसँग व्यवहारिक ज्ञान भने भएन । भनिन्छ नि कि त मानिसले पढेर बुझ्छ कि परेर । यसमा हामी चाँहि पर्नेमा पर्छ । किनकि हामी घटना घटेपश्चात् माब बुझ्छौं अनि सचेत हुन्छौं । पछिल्लो समय त कलाकारहरु पनि देउसी भैलो खेल्न गएको देखिन्छ । देउसी भैलो खेलेर जम्मा हुने पैसाले यो बनाउने त्यो बनाउने भनेर घोषणा गर्ने अनि पछि पचाउने काम भइरहेको छ । देउसी भैलो हाम्रो संस्कृति नभएर व्यापार बनेको छ । जो गरिब छ, उसको घरमा देउसी भैलो खेल्न गइदैँन । धनीको घरमा मात्र देउसी भैलो खेलिन्छ । यता, व्यापारीहरुले पनि चाडबाडकै मौका छोपेर सर्वसाधारण ठगिरहेका छन् । छिमेकी देश भारतलगायत विभिन्न मुलुकबाट हजार रुपैयाँ किलोमा काजु किनेर ल्याएर यहाँ २५ सय रुपैयाँ किलोसम्म बेचिएको छ ।
भाइ मसाला, फलफूल, मिठाईमा पनि यस्तै लुटधन्दा चलेको छ । भाटभटेनी, सुपर मार्केट, बिग मार्टहरु त झन् ठग नै बसेका हुन् । सस्तोमा सामान खरिद गरी ल्याई उपभोक्तालाई चर्को मूल्यमा बेचबिखन गरिन्छ । त्यो पनि म्याद गुज्रिएका, गुणस्तरहीन अनि तौलमा ठगिन्छ । अहिले आम नागरिक भन्छन्, ‘खसीको मासु लिन गएमा बाख्रा वा बोकाको मासु दिइन्छ ।’ राँगाको मासु भनेर भैंसीको र मरेका कुखुरा बेचबिखन गर्ने गरेको बताइन्छ । यद्यपि, मासु पसलको अनुगमन सम्बन्धित निकायले गरेको पाइदैँन । व्यापारीहरुले नक्कली मदिरा बेचिरहेका छन् । बजारमा त्यस्ता मदिरा छ्यापछ्याप्ती भेटिन्छन् । घरेलु मदिरा पनि भैँसीको हड्डी, जुत्ता, पुराना मोजा वा सख्खर प्रयोग गरी बनाइन्छ ।
यो मदिरा सेवन गर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । तर, के गर्नु व्यापारीलाई कमाउनु छ । सर्वसाधारणलाई बाध्यता छ । अनि नियमनकारी निकाय भने निदाएर बसिरहेको छ । व्यापारीहरु दिउँसै रात पारेर सर्वसाधारण ठग्छन् । एक सयको सामानलाई पाँच सय असुल्छन् । तैपनि उनीहरुलाई कारबाही हुदैँन । आखिर किन ? अनुगमन गर्न जाने चाँहि को र ? देशमा सरकार छ । तर, नागरिकले अनुभूतिगर्न पाएका छैनन् । जहाँ पनि सर्वसाधारण ठगिएका छन् । लुटिएका छन् । अनि कसरी देशमा राज्य वा सरकार छ भने जनताले पत्याउने ? कानूनले बन्देज गरिएका काम गरेमा कारबाही गर्ने अधिकार प्रहरीसँग पनि हुन्छ । बजारमा सादा पोशाकका प्रहरीहरु खटिएका छन् । तर, कालोबजारी गर्ने वा सर्वसाधारण ठग्ने व्यापारीलाई प्रहरी कारबाही गर्नुको साटो चाडपर्व खर्च लिन्छन् । यता, कुनै पनि घटना घटेपश्चात् मात्र सम्बन्धित निकाय पुग्छ । घटना घट्न नदिनै पूर्वतयारी गर्दैन । अनि घटना घटेपश्चात् कारबाही गरेर के फाइदा ? राज्यको दायित्व भनेको घटना घट्नै नदिनु हो ।
तर, हामी कहाँ त मान्छे मरिसक्छ अनि बल्ल प्रहरी पुग्छ । अपराधीलाई पक्राउ गर्छ । यद्यपि, त्यो घटना हुन नदिनैतर्फ चाँहि लाग्ने हो कि । अपराधीलाई कारबाही गर्नु मात्र राज्यको दायित्व होइन, अपराधी उत्पन्न हुन नदिनु पनि राज्यको कर्तव्य हो । यसका लागि हरेक क्षेत्रमा राज्यको निगरानी आवश्यक छ । सरकारसँग केही भिजन नै छैन । प्रधानमन्त्री केपीशर्मा ओलीसँग कसरी कालोबजारी नियन्त्रण गर्ने ? कसरी जनतालाई शान्ति सुरक्षा दिने ? कसरी अपराध नियन्त्रण गर्ने ? भनेर केही योजना नै छैन । किनकि उनलाई आफ्नो सत्ता वा कुर्सी जोगाउने मात्र चिन्ता छ । सरकारले त कसैको मतलब गरेन । तर, नागरिकले आफ्नो र आफ्नो सम्पत्तिको आफैं सुरक्षा गर्नुपर्छ । तिहार सबैका लागि शुभ रहोस् । तिहारका नाममा बेतिथि नमौलाओस् । कुनै पनि त्यस्ता घटना नहोस्, जसले ठुलो क्षति व्यहोनुपरोस् । सँगै तिहार मनाउने नाममा जुवातास खेलेर कसैको पनि घरखेत नसकियोस् ।
रुषा थापा
भक्तपुर