रविलाई थप हिरासतमा राख्न गरिएको म्याद सकियो, सार्वजनिक बिदाले तिहार हिरासतमै

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ । कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन अर्थात कार्तिक १४ गते सम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

तर, कात्तिक १५ गते (आज)देखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ । यससँगै उनको तिहार हिरासतमै बित्ने भएको छ । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।

त्यसैले प्रहरीले रविलाई कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउने छ । त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । बुधबार अबेर बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) बसन्त शर्माले बयान प्रमाणित गरेका हुन् ।

लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसरा उनको बयान ४५ पेज लामो रहेको छ। बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्