इन्ट्राको तिहार कार्यक्रममा नेपालीहरूसँगै रमाए अमेरिकी सांसद

वासिंगटन डिसी – अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीहरुसंगै अमेरिकाका सांसदहरुले तिहार उत्सब मनाएका छन् । सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय संसदका सदस्य कंग्रेसम्यान स्कट पेरी र उनको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरु डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोलीसहितका जनप्रतिनिधिहरुले नेपाली मूलका बालवालिकाहरु र तिनका अभिभावकसंगै देउसी भैली एवं नेपाली सांस्कृतिक नृत्य र गीतमा रमाइलो गरेका थिए ।
इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भएको सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग शहरको इन्ट्रा म्युजिक स्कूलका वालवालिकाहरुले नेपाली सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा तिनै बालवालिकाले देउसी भैलो खेलेर नेपाली सांस्कृतिक चाड मनाएका थिए ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई आफुहरु बसेका स्थानहरुमा जीवन्त राख्न र आफ्ना सन्तान दर सन्तानसम्म नेपाली संस्कृतिलाई पुन्तान्तरण गर्न फाउण्डेसनले अमेरिकाका विभिन्न शहरहरुमा सांस्कृतिक नृत्य तथा गायनका निशुल्क कक्षाहरु संचालन गरेको जानकारी दिए । नेपाली मूलका ११ सयभन्दा बढी वालवालिका एवं किशोर किशोरीले ती कक्षाहरुमा नेपाली संस्कृतिक नृत्य र गायन सिकिरहेको उनले बताए । आफ्नो संस्कृतिको पालना गर्न खोज्दा भुटानबाट लेखेटिनु परेको अवस्थाको स्मरण गर्दै उनले शरणार्थी भएर नेपाल वस्दा होस् वा पुनर्वासअन्तर्गत अमेरिका आएर होस् नेपाली संस्कृतिलाई जीवन्त राख्न र पुन्तान्तरण गर्न प्रयास गरिरहेको बताए । उनले नागरिकताले राष्ट्रियता फेरिए पनि नेपाली जातीय पहिचान कहिल्यै नफेरिने पनि बताए ।

कार्यक्रममा अमेरिकी संघीय संसदका सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षितरुपमा मनाउन पाउनु पर्ने धारणा राखे । उनले आफ्ना पुर्वज कोलम्बियामा आएको, आफ्ना चिफ अफ स्टाफका पूर्वज इटलीबाट आएको बताउंदै नेपाल र भुटानबाट आएका नेपालीहरुको सांस्कृतिक उत्सवमा भाग लिन पाउंदा खुसी लागेको बताए ।

बरिष्ठ बासुरीवादक सुशील विश्वकर्माले बांसुरीबाट तिहारको धुन एवं कलाकारहरुले जहां छन् बुद्धका आंखा बोलको राष्ट्रिय गीतबाट शुरु गरिएको कार्यक्रममा नेपाली मूलका बालवालिकाले उत्साहपूर्ण प्रस्तुतिले दर्शकहरुले मनोन्जन दिएका थिए । दावा तामाङ्गको स्वागत एवं ओमराज गुरुङ्गको धन्यवाद ज्ञापान गरेको सो कार्यक्रममा पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका वालवालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताएको बताएका थिए । आयोजक संस्थाका वेदव्यास काफ्लेले दिएको जानकारीअनुसार कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायनका कक्षाको पहिलो बर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्