सत्ता गठबन्धनले भन्यो – सडकका अवाञ्छित गतिविधि स्वीकार्य छैन

काठमाडौँ – सत्तारुढ दलहरूले सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम नगर्न आग्रह गरेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलहरूले साझा ७ बुँदे दृष्टिकोण सार्वजनिक गर्दै देशको लोकतान्त्रिक वातावरणलाई बिथोल्ने अनुचित र अवाञ्छित तरिकाहरू उचित नभएको बताएका हुन् ।

मुलुकको लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा अगाडी बढाउनका लागि सरकारले अगाडी बढाइरहेका प्रक्रियाहरूमा सहयोगका लागि आग्रह गरेका छन् ।

सत्तारुढ दलहरूले लोकतन्त्रको विकल्प उन्नतस्तरको लोकतन्त्र मात्रै हुने भन्दै लोकतन्त्रमा सरकारको विकल्प संसदबाट र जनादेशबाट मात्रै हुने स्पष्ट पारेका छन् ।

सडकबाट आवञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने र विकास निर्माणको कामलाई अवरोध गर्ने काम उचित नभएको सत्तारुढ दलहरूको निष्कर्ष रहेको छ । बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार गठन भएपछि कानुनी सुधारका पक्षमा अनुकूल वातावरण बढ्दै गइरहेको र राजश्व वृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक सङ्केतहरू देखिएको निष्कर्ष निकालेको बताए ।

उनले सहकारी संस्था बचत रकम दुरुपयोगको सन्दर्भमा गठित संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदनको आधारमा छानबिनको प्रक्रिया अगाडी बढिरहेको भन्दै सो प्रक्रियालाई अनुचित ढंगले प्रभाव पार्ने कुनैपनि प्रकारका गतिविधिहरू, काम नगर्नका लागि सात राजनीतिक दलहरूले सामूहिक रुपमा अनुरोध गरेको जानकारी गराए । उनले निष्पक्ष र पारदर्शी तरिकाले छानबिनको प्रक्रिया अगाडी बढाइएको कुराप्रति आश्वस्त हुनका लागि अनुरोध गरिएको पनि जानकारी गराए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्