ओलीले अध्यादेश ल्याउने तयारी गरेपछि सभापति देउवा र महामन्त्री थापाबिच भेटवार्ता हुँदै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच भेटघाट हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि देउवासँग महामन्त्री थापाले छलफल गर्न लागेका हुन् ।

अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले देउवासँग तारनतार ताकेता गर्दै आएका छन् । अध्यादेशकै विषयमा छलफल गर्न ओलीले आइतबार देउवालाई बालुवाटार बोलाएका थिए । तर अध्यादेश ल्याउने विषयमा देउवा मौन रहेको बुझिएको छ ।

सुरुमा ओली र देउवाबिच छलफल भएको थियो । पछि एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु पौडेल, कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू बालुवाटार पुगेका थिए । अध्यादेश ल्याउने विषयमा कांग्रेसभित्र मतभेद रहेको छ ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले ओलीलाई अध्यादेश रोक्न आग्रह गर्दै आएका छन् । आज साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सायद आजै अध्यादेश पेस हुन सक्ने एक मन्त्रीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्