काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ ।
दसैँमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौँका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दसैँ अवधिमा काठमाडौँ उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौँ उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।” अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ । दसैँका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौँ फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।