काठमाडौँ – मेक्सिकोमा सेनाले चलाएको गोली लागेर ६ जना आप्रवासीको मृत्यु भएको छ । अमेरिका प्रवेश गर्ने योजनासहित देशको दक्षिणी भेगमा ३३ जना आप्रवासी बोकेर गएको गाडीमाथि सेनाले गोली चलाएको थियो ।
सो घटनामा नेपाली समेत परेको आशङ्का गरिएपनि औपचारिक पुष्टि भने भएको छैन । रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार सो गाडीमा इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानका आप्रवासीहरू थिए । मन्त्रालयले मृतकहरूको थप विवरण भने दिएको छैन ।
मेक्सिकोको रक्षा मन्त्रालयले बताएअनुसार यस घटनामा अरू १० जना आप्रवासी घाइते भएका छन् । यो घटना मङ्गलवार साँझ ग्वाटेमालाको सीमाबाट उत्तरमा झन्डै २५ माइल परको हो । सेनाको गस्तीको क्रममा आप्रवासीहरूलाई बोकेको पिक–अप गाडी उच्च गतिमा गइरहेको देखे । गाडीलाई रोक्न खोज्दा नरोकीकन भागेपछि सेनाका केही जवानले गोली चलाएका थिए । यो घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।
अनुसन्धान जारी रहँदासम्म गोली चलाउने सेनाहरूलाई निलम्बन गरिएको छ । पछिल्लो समय मेक्सिकोको सीमाबाट अमेरिका छिर्नेको सङ्ख्या बढ्दो छ । यस्तोमा अमेरिकाले मेक्सिकोमाथि अवैध आप्रवासीमा रोक लगाउन दबाब बढाइरहेको छ । सेनाको चेकप्वान्टमा सो गाडी नरोकिएपछि सेनाहरूले गाडीको पिछा गरेको प्रहरीको उजुरीमा उल्लेख छ ।
चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते १२ जना मध्ये २ जनाको अस्पतालमा मृत्यु भएको हो । मन्त्रालयले घाइतेहरू राष्ट्रियता पनि खुलाएको छैन ।