जासुस प्रमुखलाई हटाउने खेल सुरु, कार्की र जोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई हटाउने खेल शुरु भएको छ । २०७५ पुसमा विभागका तत्कालीन प्रमुख दिलिप रेग्मीलाई जस्तै यसपटक पनि नियमावली संशोधन गरेर उनलाई हटाउने तयारी थालिएको चर्चा हुन थालेको छ ।

गत असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै थापा प्रधानमन्त्रीलाई भेट्न गएका थिए । त्यही दिन उनले आफुलाई हटाउने खेल सुरु भएको छनक पाएका थिए । तत्कालिन माओवादी नेतृत्वको सरकारले  नियुक्त गरेका रोल्पाली थापाले यसबीच कुनै नयाँपन देखाउन नसकेको गृहमन्त्री रमेश लेखकसमेतको गुनासोपछि प्रधानमन्त्रीले घुमाउरो शैलीमा राजीनामा दिन आग्रह गरेको थापा निकटस्थहरू बताउँछन् । आफै मार्गप्रशस्त गर्ने सुरसार नदेखिएपछि बालुवाटारका मुलीले नियमावली संशोधन गरेर विद्यमान तीन वर्षे कार्यकाललाई दुई वर्ष बनाउने संकेत दिएको बरफबागमा चर्चा छ । यदि, उनी हटेमा जुम्लाका टेकेन्द्र कार्की र डोटीका ओम जोशीवीच प्रतिस्पर्धा हुनेछ । कार्की कांग्रेस उपसभापति पूर्णबहादुर खड् का निकट हुन् । उनलाई कर्णालीका सबैजसो नेताको समर्थन देखिन्छ । उता, जोशीलाई पनि सुदूरपश्चिमका कांग्रेस सभापति शेरबहादुर देउवालगायतको समर्थन रहने नै भयो ।

थापाको मुहार हँसिलो देखिन छाडेको र पछिल्लो समय आफूमुनिका कर्मचारी र युनिटसँग नियमित सम्पर्क टुटाएको विभागका कर्मचारीहरू बताउँछन् । प्रधानमन्त्री असोज दोस्रो साता अमेरिकाबाट फर्केपछि नियमावली संशोधन गर्ने तयारी गरिएको एक उच्च अधिकारीले जानकारी दिए । हालैको भेटमा थापाले एसएसपी सरुवाको फाइल पठाउन अनुमति मागेका थिए तर प्रधानमन्त्रीले तत्काल केही नगर्न आदेश दिएपछि उक्त सरुवासमेत अलपत्र परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्