कार्ल विक्रम थापाद्वारा लेखिएको “अमेरिकाको संक्षिप्त इतिहास र संविधान” नामक पुस्तकको विमोचन

काठमाडौँ – कार्ल विक्रम थापाद्वारा लेखिएको “अमेरिकाको संक्षिप्त इतिहास र संविधान” नामक पुस्तकको आज भव्य रुपमा विमोचन गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बामदेव गौतम हुनुहुन्थ्यो । विशिष्ट अतिथिको रूपमा सांसद रामहरी खतिवडा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन इन्द्रराज भट्टराईले गर्नुभएको थियो। ७१६ पृष्ठको यस पुस्तकमा अमेरिका र नेपालको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण सामग्री समावेश गरिएको छ। पुस्तकले अमेरिका र यसको इतिहासको सकारात्मक पक्षको गहिरो विश्लेषण प्रस्तुत गर्दै नेपाल–अमेरिका सम्बन्धमा सकारात्मक दृष्टिकोणले योगदान पुर्याउन प्रेरित गर्ने उद्देश्य राखेको छ। प्रमुख अतिथि गौतमले आफ्नो मन्तव्यमा यस पुस्तकले अमेरिकालाई बुझ्न र नेपाल–अमेरिका सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

उहाँले लेखक थापाको अनुसन्धानात्मक प्रयासको प्रशंसा गर्दै पुस्तकको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो। सांसद रामहरी खतिवडाले पनि पुस्तकमा समेटिएको ऐतिहासिक तथ्यहरूको गहिरो विश्लेषणको चर्चा गर्नुभयो। उहाँले अमेरिकाको खोज, १७ औं र १८ औं शताब्दीमा युरोपेली आगमन, उपनिवेशकालीन युद्धहरू, सन् १७७६ मा स्वतन्त्रताको घोषणा, अब्राहम लिंकनद्वारा दासप्रथाको उन्मूलन जस्ता महत्त्वपूर्ण घटनाहरूलाई यस कृतिले प्रभावकारी ढंगले समेटेको बताउनुभयो। खतिवडाले पुस्तकले अमेरिकाको उदय, संविधानको निर्माण, राष्ट्रपति प्रणाली, प्रतिनिधि सभा, न्यायपालिका र निर्वाचक मण्डलको महत्त्वको बारेमा समेत जानकारी दिएको उल्लेख गर्नुभयो। उहाँले इतिहास आफैमा खोजमूलक विषय भएको र लेखक थापाले अमेरिकाको इतिहास र संविधानलाई रोचक र बौद्धिक ढंगले प्रस्तुत गरेको भन्दै पुस्तकको सफलताको शुभकामना दिनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले यो पुस्तक नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्ने सबैका लागि उपयोगी हुने धारणा व्यक्त गरे।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्