‘इनास साँझ २०८१’ वेल्समा सम्पन्न, १५० जना भन्दा बढीको सहभागिता

काठमाडौँ – अन्तर्राष्टिय नेपाली कलाकार समाज  वेल्स कमिटिको आयोजनामा ‘इनास साँझ २०८१’ वेल्समा सम्पन्न भएको छ । इनासको वेल्स राज्य समितिले मंगलबार वेल्सको राजधानी कार्डिफमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति समेत रहेका रामदत्त मिश्रले जानकारी दिए । कार्यक्रममा लोकदोहरी कलाकारद्वय श्रीकृष्ण बम मल्ल र राजन कार्कीले सांगितिक प्रस्तुती दिएका थिए । कलाकारको प्रस्तुतीमा सहभागीहरुले भरपुर आनन्द लिएको आयोजक इनास साँझ वेल्सले जनाएको छ ।

इनास वेल्सका संयोजक मिश्रका अनुसार कार्यक्रममा करिब  १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।  इनास वेल्सको पहिलो सांस्कृतिक कार्यक्रममा सम्पूर्ण उपस्थित सहभागीहरूले भरपुर सांस्कृतिक मनोरञ्जन लिएको र अतिथिहरूद्वारा कार्यक्रमको सकारात्मक प्रतिक्रिया पाएको आयोजक इनास वेल्स संयोजक मिश्रले जानकारी दिए । कार्यक्रममा वक्ताहरुले विदेशी भूमिमा नेपाली कला र संस्कृतिको अझ बढी महत्व रहने भएकाले इनास वेल्सले चालेकाे कदमको खुलेर प्रसंसा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं इनास युकेका अध्यक्ष सञ्जयभक्त कँडेलले संस्थालाई युकेका हरेक राज्य र सहरमा विस्तार गर्ने र यसका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका गरे । सांस्कृतिक कार्यक्रमको सुरुमा धर्मसांस्कृतिक अभियान युकेको भजन उपसमितिद्वारा परम्परागत भजन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वेल्स आर्ट इन्टरनेशनलकी डेभलपमेन्ट अफिसर ब्रानवेन डिक्सनले यस्ता सांस्कृतिक विविधताले वेल्स राज्यलाई अझ सम्पन्न बनाएकोमा इनास वेल्सलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै साथ, सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा अतिथिका रुपमा धर्म सांस्कृतिक अभियान युकेका अध्यक्ष डा. थानेश्वर पाण्डेय, नेपाली समाजकी अध्यक्ष लक्ष्मी केसी, ब्रेकनका कार्यकारी निर्देशक खुसीमान गुरुङ, सल्लाहकार रामचन्द्र पोखरेल, युरोपियन नेपाली समाजकी महासचिव वर्षा खनाल, कलाकार अनु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न दाताहरूले आर्थिक सहयोग गरेका थिए भने विभिन्न नेपाली सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।

विदेशी भूमिमा पनि नेपाली कला, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न इनास युके लागि परेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्