लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित

काठमाडौँ – लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजो बिहानदेखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । वर्षासँगै कर्णाली, महाकाली लगायतका नदी तथा ती नदीका सहाक नदी र खोलामा पानीको बहाव बढेको छ ।

पछिल्लो २४ घण्टामा डडेल्धुराको साहुखर्कमा दुई सय ६६ र जोगबुढामा दुई सय ४० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै कैलाली, कन्चनपुर, डोटी लगायतका जिल्लामा पनि २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा धेरै पानी परेको छ । कैलालीको चिसापानीमा कर्णाली नदीको पानीको सतह १० दशमलव आठ मिटर पुगेको छ ।

यस्तै डडेल्धुराको पारिगाउँमा महाकाली नदीको पानीको सतह आठ दशमलव ७१ मिलिमिटर पुगेको छ । यी दुवै केन्द्रले खतराको घण्टी बजाएका छन् । यस्तै महाकाली नदीले कञ्चनपुर र बबइ नदीले बर्दियामा खतराको तह पार गरेका छन् । कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सय ४४ जनालाई सुरक्षीत स्थानमा सारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध छ ।

यस्तै केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको छ । बाढी पूर्वानुमान् महाशाखाले धेरै वर्षा भएका कारण कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीका साना ठूला नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । पछिल्लो एक घण्टादेखि भने सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा रोकिएको छ ।

मौसम पूर्वानुमान् महाशाखाले आजराति पनि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको जनाएको छ । भोलिदेखि भने सुदूरपश्चिम प्रदेशमा मुसल्धारे वर्षा रोकिने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्