सुदूरपश्चिममा भारी वर्षा- बाढीमा बालिका बेपत्ता, दम्पती घाइते

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा बुधबार बेलुकीदेखि सुदूरपश्चिममा लगातार भारी वर्षा भएको छ । वर्षापछिको बाढी र पहिरोले विभिन्न सडक अवरूद्ध छन्।

पहिरोले भीमदत्त राजमार्गसहित विभिन्न मुख्य र ग्रामीण सडक अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

साथै केआइसिंह राजमार्ग पनि अवरूद्ध छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेका कारण राजमार्ग र डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रुपमा यात्रा गर्न पनि आग्रह गरेको छ। अहिले पहिरो हटाउने र सडक सुचारु गर्ने क्रम जारी छ।

पहिरोमा पुगिएर डोटीमा दम्पती घाइते भएका छन्। गए राति घरमाथिबाट आएको पहिरोले डोटी बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय श्रीमती भागरथी जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्य भट्टले बताए।

पहिरोमा परेर खसीबोका र गाई गोरू पनि मरेको प्रहरीले जनाएको छ। डोटीमै खोलाले बगाउँदा केआइसिंह गाउँपालिका–४ कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द बेपत्ता भएकी छन्। वाइल बजारमा दूध पुर्‍याउन जाने शुक्रबार क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ। उनको खोजी जारी छ।

पहाडी जिल्लामा पहिरोले जनजीवन प्रभावित हुँदा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बाढीले जनजीवन प्रभावित भएको छ।

कैलालीको दक्षिण क्षेत्रको बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेहरू सुरक्षित क्षेत्रमा गएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि नै बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थलमा रहन सूचना जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले पानी केही कम भएको भन्दै बाढीले ठूलो क्षति नपुर्‍याएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्