एनप्याब्सन काठमाडौंले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने

काठमाडौं  – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौं जिल्लाले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८१ को आयोजना गर्ने भएको छ । एनप्याब्सनका अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षतामा आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दे प्रतियोगिताबारे जानकारी दिएको हो ।
विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्षेत्रमा सकृय एनप्याब्सन काठमाडौंले विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले पर्सि मंगलवार नेपाल प्रज्ञा भवन, कमलादीमा, उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८१, छैटौं संस्करणको आयोजना गर्न गइरहेको कार्यक्रम संयोजक टंक थापाले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु.२५,०००/–, रु. २०,०००/– र रु.१५,०००/– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने छ । साथै चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै, सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता सहभागी विद्यालय र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले कार्यक्रम सहयोग शुल्क रु.५०००/– तिरी भाग लिएका छन् । विद्यालयहरुले प्रतियोगितामा कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेट भित्र आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । विद्यालय भन्दा बाहिरी विद्यार्थीहरु अथवा बाहिरी कलाकारहरुलाई प्रतियोगितामा सहभागी नगराउने आयोजकले जनाएको छ । तसर्थ सहभागी विद्यालयहरुले प्रतियोगितामा आफ्नो नाम दर्ता गर्दा प्रतियोगि छात्र छात्राको फोटो, विद्यालय परिचयपत्रको फोटोकपी अनिवार्य रुपमा दर्ता फारम सहित २०८१ भाद्र १४ गते सम्म अन्तिम दार्ता मिति राखिएको थियो जसमा ७५ विद्यालयहरुले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन ।
प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने र कुनै पनि रिमिक्स भर्सनमा भएको गीतलाई मान्यता नदिने साथै चर्या नृत्यको आफ्नै मौलिकता रहेकोले प्रतियोगितामा समावेश नगराउने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रत्येक सहभागीलाई बढीमा ५ मिनेटको समय दिइने भएकोले उक्त समय उद्घोषकले उद्घोषण गरे पश्चात सुरु हुनेछ । मौलिक संस्कृति झल्कने खालको नृत्य प्रतियोगिता केन्द्रित रहेको हुँदा बाहिरी सजावट र नाटकीय प्रस्तुति मूल्याङ्कनमा पर्ने छैनन् । प्रतियोगिताका लागि आवश्यक सामग्री सहभागी विद्यालयले व्यवस्था गर्नु पर्नेछ । सहभागी विद्यालयले नृत्यको विवरण अनिवार्य रुपमा प्रिन्टेट पानामा लिपिबद्ध गरी लेखेर दर्ता फारम सँगै बुझाउनुपर्ने छ । जुन नृत्यको विवरण कार्यक्रम प्रस्तोताले मात्र उद्घोष गर्ने छ । विद्यालयलाई छुट्टै उद्घोष गर्न दिइनेछैन ।

उक्त समयमा हरेक प्रतियोगी विद्यार्थी परिचयपत्र सहित उपस्थित हुनुपर्ने छ । नृत्य प्रतियोगिता गर्ने क्रममा विद्यालयको नाम उच्चारण गरिने छैन । मंगलबारका दिन बिहान ९ः०० बजे देखि सुरु हुने हुँदा प्रत्येक प्रतियोगी विद्यालयले आफ्नो कम भन्दा ३० मिनेट अगावै आफ्नो उपस्थिति हाजिरी पुस्तिकामा हाजिर जनाउनु पर्ने आयोजकले बताएकोछ ।
यदि कुनै पनि विद्यालयले हाजिरी पुस्तिकामा हाजिर नजनाएमा अथवा दिएको पालोमा विद्यालय उपस्थित हुन नसकेमा उक्त विद्यालयको नृत्य प्रस्तुत गर्ने पालोनृत्य कमअनुसार अन्तिममा मात्र आउनेछ ।

नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा पाँच जना लोक, संस्कृति, कला साथै नृत्य विशेषज्ञहरु हुनेछन् । नृत्यको स्तर, सिर्जना, मौलिकता, चाल, ताल, प्रस्तुति, भेषभुषा, श्रृङ्गारमा एकरुपता, अनुशासन साथै नृत्यसमय भित्र प्रस्तुत गरिएका सम्पूर्ण हाउभाउका आधारमा निर्णायकहरुले निर्णय गर्नेछन् । प्रतियोगितामा भाग लिने विद्यालयका प्रधानाध्यापकहरुले समेत कार्यक्रमको छुट्टै आचार संहितामा हस्ताक्षर गरि बुझाउनु पर्ने छ । बिरिष्ठ नृत्य शिरोमणि भैरवबाहादुर थापाज्युलाइ सम्मान गरिने छ । प्रतियोगितामा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रत्यक्ष प्रसारणका साथै नृत्य प्रतियोगिताका नृत्यहरुलाई टेलिभिजनको माध्यमबाट र फेसबुक र युट्युवबाट प्रत्यक्ष प्रसारण गरिनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्