अमेरिकामा शुरु भयो इन्ट्रा कप फुटबल, १४ सय खेलाडी सहभागी हुने

न्यूयोर्क – अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा अवस्थित कोप्ले सकर कम्प्लेक्समा अमेरिकाभरिका नेपालीमूल, नेपालीजातिका युवायुवतीहरुका बीच इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता अगष्ट ३० तारिक शुक्रबारदेखि शुरु भएको छ ।

पुरुषतर्फ ३० बर्षमुनिका युवा, तीसदेखि ३९ बर्षसम्मका युवा र ४० बर्षदेखि माथिका भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरु तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिष्पर्धा हुने छ । यसैगरी १६ बर्षदेखि मुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिष्पर्धा हुने छ ।

पीसजोन क्लबसमेतको सहकार्यमा इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेका यी खेलहरुमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टीम दर्ता भएका छन् । किशोर किशोरीतर्फ २९ वटा टीम दर्ता भएका छन् । सबै उमेर समूह र सबै टीमका गरी लगभग चौध सय खेलाडीहरु सहभागी भएको यो प्रतिष्पर्धाको उद्घाटन इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले खेल मैदानमा खेलाडीहरुलाई फुटबल पास हानेर गरेका थिए । उनले अमेरिका र क्यानडामा रहेको नेपाली भाषी समाजका खेलप्रेमीहरुलाई एकठाउंमा ल्याई आपसी भाइचारको अभिबृद्धिका साथै अनुशासित प्रतिष्पर्धात्मकताको विकास गर्ने उद्देश्यले यी खेलहरु आयोजना गरिएको बताए । अमेरिका, क्यानडाजस्ता देशहरुमा बसेर पनि आफ्नो नेपाली जातीय पहिचान र एकता कायम राख्दै अगाडि बढ्न प्रेरित गरोस् भन्ने पनि खेलको उद्देश्य रहेको उनले बताए ।

आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार, युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन् । जसमा ३० बर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् । ४० बर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् ।

त्यसैगरी ४० बर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिष्पर्धा छ । महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिष्पर्धा हुदै छ ।

नेपाली मूलका नेपालीहरुको सर्बागिंण विकासमा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिंदै सेप्टेम्बर १३देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा बृहत भलिबल प्रतियोगिताको आयोजना गरिएको पनि आयोजक संस्थाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्