सुनकोसी जिप दुर्घटनाबारे पुर्वमन्त्री श्रेष्ठको अभिब्यक्तिको आलोचना

काठमाडौँ । गत शनिवार साँझ खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको जिप दुर्घटनाबारे बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठले स्थलगत जानकारी पछि दुर्घटनाबारे गरेको अनुमान सहितको पोष्टको आलोचना भएको छ । प्रदेश सांसद समेत रहेका श्रेष्ठले सोमबार घटनास्थल पुगी दुर्घटनाबारे जानकारी लिए पछि सडक विभागले बिछ्याएको चिप्सका कारण दुर्घटना भएको हुनसक्ने भन्दै ”चिप्समा पुगेपछि गाडी स्वतः अलि असन्तुलित हुने हुँदा चालक आत्तिएर इमर्जेन्सी ब्रेक लगाएको हुनसक्छ । जसको कारण गाडी असन्तुलित भई सडकबाट नदीमा खसेको हुनसक्छ ।” भनेका छन् ।

 

दुर्घटनाको सम्भावित कारण भन्दै उनले सशस्त्र र नेपाल प्रहरीका उद्धारकर्ताहरू, जनप्रतिनिधि र स्थानीय अगुवाहरूसँग बुझ्न खोज्दा अधिकांशको यस्तै तर्क पाएको पनि उनले बताएका छन् । हाइवेमा गाडी तीव्र गतिमा रहेको हुनसक्ने चालकले मद्यपान गरेको हुन सक्ने र एक्कासि चिप्स देख्दा आत्तिएर ब्रेक लगाउँदा असन्तुलित भई सुनकोसीमा खसेको हुनसक्ने उनको अनुमान सहितको पोष्टको आलोचना भएको हो । पूर्व मन्त्री श्रेष्ठले चिप्सका कारण दुर्घटनाको जोखिम बढेको बताउँदै सरकार, भौतिक योजना मन्त्रालय र सडक विभागलाई ध्यानाकर्षण समेत गराएका छन् । दुर्घटना पछि चालक अविन बके सहित उनका दुई साथीहरू प्रनित सायाँजू र बलराम घटुवको अवस्था अझै अज्ञात रहेका बेला पीडामा रहेका परिवारजनमाथि आघात पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै श्रेष्ठको अभिब्यक्तिको आलोचना भएको हो । आलोचना पछि श्रेष्ठले फेसबुक पोष्ट केहि सच्याएका छन् ।

खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गर्दा प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको जिप सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेनजिक पाख्रिन घुम्तीबाट सुनकोसी नदीमा खसेको थियो । बकेका अर्का साथी सुशान्त कक्षपति भने दुर्घटना लगत्तै पौडिएर निस्किन सफल भएका थिए । गाडीका चालक अबिन मद्यपान गर्ने व्यक्ति नभएको समेत उनको परिवारबाट थाहा भएको छ । बेपत्ता युवाहरूको परिवारमा रुवाबासी रहेको र आफन्त, छिमेकी, शुभचिन्तकहरू घरमा पुगेर सान्त्वना दिई रहेका अवस्थामा जिम्मेवार जनप्रतिनिधिको गैर जिम्मेवार अभिव्यक्तिले पीडामाथि पीडा थपिदिएको पीडितका शुभ चिन्तकहरुले बताएका छन् । चालक बके रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेका जेठा छोरा हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्