खिमानन्द जोशी
मानसखण्ड क्षेत्रको विशिष्ट पर्व गौरा समानता,सौम्यता, प्रवृति, प्रेम, हर्ष उल्लास, आध्यात्मिक सन्तुष्टि जस्ता विविध पक्षहरूको संगम हो ।
यो पर्वले यहाँको सबै जात जाति, सबै उमेर र क्षेत्रका बासिन्दाका लागि उत्तिकै महत्व राख्दछ ।
बिरुडा भिजाउने, बिरुडा पखाल्ने, लोली गो:रा पुजन, गो:रा भित्र्याउने, संजा भित्र्याउने, अठवाली पार्ने र गो:रा विसर्जन यस पर्वका मूल कर्म हुन् । यी सबै नारीहरुबाटै हुन्छन् । ब्रतालु नारीले पूजामा प्रसाद पनि बिरुडाको मात्र प्रयोग गर्छन् ।
यस पर्वलाई गौरा, गो:रा , लोली गो:रा , सातु आठु,गमरा आदि विविध नामले पुकारिन्छ । वैदिक कालिन शिव पार्वती बिबाहोत्सवको निरन्तरता मानिने यो पर्वको उल्लेख परशुरामद्वारा पराजित त्रेतायुगका राजा सहस्त्रार्जुनको समयमा नै स्पष्ट देखिन्छ ।
शिवपुराणमा वर्णित शिव पार्वतीको कथालाई लोक जीवनसंग जोडेर रचना गरिएका गौराका फागहरु र अठवालीमा गो:रा र महेश्वर लाई साधारण मनुष्यका रूपमा प्रस्तुत गरिएको पाउन सकिन्छ । तपस्या गर्न गंगातट गएकी गोरा र ग्वालाहरुसंगै खेली रहेका मयास्सरबिच हेराहेरबाटै प्रेमाभाव उत्पन्न हुन्छ।
बाटामथि मयास्सर डणली खेलन्ना
बाटातली बालिकन्या बालुवो खेलन्न्नी
वारीबाटा लोली गो:रा बिणइ बजौन्छे
पारीबाटा मयास्सर बुल्बुली छेकन्छ
बुल्बुली छेकन्छ बासुली बजुन्छौ….
बासुरी बजाइरहेका मयास्सरलाई गो:राले परिचय मागछिन् दुबै एक अर्कालाई आफ्नो परिचय दिइसकेपछी मयास्सरले गो:रा समक्ष बिबाह प्रस्ताव राख्दछन् । लोली गो:राले आफ्ना मातापिताले हात दिएमा अवश्य खुसी साथ स्वीकार्ने बताउँछिन् । गो:रा र मयेस्सरले ग्वालाहरुलाई दुबै पट्टीका जन्ती बनाई बालुवा,गाईको गोबर सल्लाका बोक्रा आदि उपलब्ध सामाग्रीहरुको प्रयोग गरी प्रेमबिवाह गर्दछन् ।
गंगातटमा प्रेमबिवाह सम्पन्न गरेपछि मयास्सर फाटेको कम्बल ओढेको बडभाटको स्वरुप धारण गरि गो:राकी आमा रानी मैनवती कहाँ हात माग्न जान्छन् । वाचा गर्न लगाई कन्याको हात मागेका बडुभाट रुपी मयास्सरलाई रानी मैनावतीले तिमीजस्तो छार भकुण्या फुसर चण्ण्यालाई कुनै हालतमा छोरी नदिने बरु अग्निमा जलाउँछु भनेपछि गो:रालाई सो खबर मौरी मार्फत पुर्याउन लगाउँछ्न् । खबर पाएर क्रोधित गो:रा घर आएर आमाको कुनै आग्रह नमानी बडुभाट रुपी मयास्सरको पुजाको गर्दै आफ्नो वास्तविक स्वरुपमा फर्किन आग्रह गर्छिन् । मयास्सरको उदाउँदो सुर्यजस्तो रुप देखेर मैनावती तत्काल छोरी दिन राजी हुन्छिन् । भदौ महिनाको शुक्ल अष्टमीको साइत जुराइ गो:रा मयास्सरको बिबाह सम्पन्न हुन्छ ।
बैबाहिक सम्बन्ध ठिक ठाक चलिरहेकै समयमा मयास्सरले संजालाई सौताको रुपमा भित्र्याएपछि आफू काली भएको र आफ्नो कालो संजालाई समेत सर्ने भन्दै मयास्सरसंग रिसाउदै गो:रा गणपति र सरस्वतीलाई साथमा लिइ माइत जान्छिन् ।
मेरो कालो रंग गुसाइ संजा सरी जालो
उइ हैत लोली गो:रा बटोली लागिन
पिठी लायो सरस्वती काखी गणपति
रुनी रुनी लोली गो:रा माइत पुजीगैन ……
यसरी गौराका फाग र अठवाली भित्र गो:राको लौकिक जीवनमा आएका सुखदुःखका कथा व्यथाहरुलाई पद्यात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । जहाँ उनले जन्मदेखि नै आम नारीहरुले जस्तै समस्या भोग्नुपरेको र उनी आफ्नो कर्तव्य पथमा अवचलित रुपमा डटेर जीवन व्यतीत गरेको पाईन्छ ।
गौराका फाग अठवाली भित्र गो:रा, गमरा,लोली गो:रा आदि विभिन्न नामले चित्रण गरिएकी गोराको फरक फरक भुमिकालाई यहाँ प्रस्तुत गरिएको छ ।
अभावमा हुर्किएकी बालिका
जन्मिएको छ दिनमा ज्योतिषलाई हेराएपछी बाबुलाई पिर्ने मुल नक्षत्र परेको थाहा पाएपछि कपडा मा पोको पारी फालिएकी कन्यालाई ऋषि पत्नीहरुले चौबाटोको अमराईको जरामुनी भेटी घर लगेर पालनपोषण गर्छन् । नौ दिन भएपछि लोली गो:रा नाम राखिन्छ । राजाको घरमा जन्मिएर पनि यसरी शिशु अवस्थामा नै त्यागिएकी लोली गो:रा अभावमा हुकिन्छिन् ।
निडर र साहसी बालिका
आठ बर्ष पुगेपछि घरमा बुबा ठुलोबाको बिचमा अब छोरीको बिहे गर्ने उमेर भयो भन्ने कुरा चल्न थालेको सुनेर गो:रा आफुलाई गंगातटमा तपस्या गर्न कुटी बनाईदिन आग्रह गर्छिन । तिमी तपस्या गर्न सक्दिनौ भन्दा पनि बाबा कर्म मैले गरे पनि धर्म तपाईलाई समेत रहने भन्दै कुटी बनाउन तयार गराई छाड्छिन ।
आज्ञाकारी पुत्री
गोरा मातापिताको आज्ञाकारी पुत्रीको रुपमा देखिन्छिन् । मयास्सरले बिबाह प्रस्ताव राख्दा आफ्ना आमाबुबासंग हात माग्न र उहाँहरुले हुन्छ भने आफू तयार रहेको बताउँछिन ।
तमरा बाबाले चिना दिया आसल्यौकि नाइँ
पातली पसक्याबरे खाउँलो कसो नाइँ
बाबाज्युले दिया घर जाउँलो कसो नाइँ …
माइतीको इज्जत ख्याल गर्ने चेली
फाग र अठवाली भित्रका विभिन्न घटनाक्रमहरुमा गो:राले माइतीको इज्जतको निकै ख्याल राखेको पाईन्छ । मयास्सरसंग रिसाएर माइत गएकी गोराले माइतमा सिन्नुको साग र ढुटाको रोटी खानुपरेको भएता पनि मयास्सरले माइतमा के खायौ? भन्दा गो:राले खिर र घिउ खाएको भन्दै माइतीको बचाउ गर्छिन् ।
माइतै घरी तमु लोलीले केउ खानी ब खाया
खाया गुसाइ मयास्सर खिरै घिय ब खाया
सिन्ना साग ढुट्या रे पोली त खाना मुइले धेक्या
छोड छोड मयास्सर गुसाइ त पागडीको चाल
पागडीका चालमा लोलीले खिरै घिय ब ओखाल्यो ..
आँटिली नारी
लोलीको बरतु लिएपछि पन्च बिरुडी खोज्न कन्हैया नगरी गएका मयास्सरले बुढी आमाको सहयोगमा बिरुडाको लागि आवश्यक पर्ने अन्य चार अन्न लिएर घर फर्कन्छन् तर कलौँ बिरुडी भने कतै पनि नभेटेको बताएपछि गो:रा ” तपाईलाई मेरो कुनै चिन्ता छैन ” भन्दै रिसाउँछिन् । मयास्सरले झनै रिसाएर हिम्मत छ भने आफै उज्बाएर देखाउ भनेर चुनौती दिन्छन् । गो:राले चुनौती स्वीकार गरेर एक्लै काँडाघारी फडानी गरेर गह्रा बनाई कलौँ उब्जाउँछिन्।
हात समायो खोतला आँसी पिठी लायो गणपति बालो
आगा लायो सरस्वती कन्या मुन्डामा बियैकी डाली
निसिगैन लोली गमरा देवी शिखरैका धुरा
आगा आगा काट्यो कट्युलो त पाछापाछा डैडोली हाल्यो
हल्युण्या स्यापका हल बनायो जतुण्या स्यापका जत्युडा
आगा आगाडी बोइहाल्या कलुँ पछाडी औंरी ब ग्यान।
सासुबाट पीडित बुहारी
अठवाली र फागहरुमा गो:रालाई सासुले खान नदिएको र अत्याचार सहन नसकी माइती गएर आमालाई पिडा सुनाउएको प्रसंग पाईन्छ ।
तणुई जति खणी रे खान्थ्युँ त ढुँगाई मिसिब दियो
तेकुना जति खणी खान्थ्युँ रे गाज्योई मिसिब दियो
गिठाई जति खणी रे खान्थ्युँ त रिठोइ मिसी ब दियो
मेराई जति दुखुई रे सुणु त जिया रतेडी बेई झाली
आदर्श पत्नी
दाम्पत्य जीवनमा प्रवेश गरेपछि पति-पत्निको एक अर्काको जीवनमा महत्त्वपूर्ण स्थान हुन्छ । गो:रा एक पारम्परिक पतिपरायण स्त्रीका साथै मिहिन रुपमा नारी स्वतन्त्रताको आवाज बुलन्द गर्ने भुमिकामा देखिएकी छिन् । गो:रा एक आदर्श पत्नी हुन्, घरबाट रिसाएर माइत आएकी गो:रालाई लिन मयस्सर पुगछन् , गो:रा सासु र सौताको कारण देखाई माइतमै बस्न सक्दथिन् तर उनले त्यसो नगरी आफ्ना पतिका साथ घर फर्किन्छिन् । आफूले काँडाघारी फडानी गरि दु:खसाथ उब्जाएको कलौँ कोसी माग्न जोगी रुपी मयास्सर कान्लामा बस्दा उनले पहिलो कोसा भुमिराजलाई अनि क्रमशः मयास्सर, सरस्वती कन्या ,गणपति वाला, सिट्टी संसार आदिलाई दिएर मात्र जोगीलाई दान गर्ने भन्दै आफ्नो पत्नि र मातृ धर्म प्रकट गर्छिन्। यहाँ उनले देवतासंगै पति र सन्तान महत्त्वपूर्ण स्थानमा राखेर नारीको विशाल हृदयको परिचय दिएकी छन् ।
पैल्लीकि कोसी भुमिराज दिउँलो उतिपाछा मयास्सर गुसाई
उतिपाछा कि कलौँकि कोसी सरस्वती कन्या कि चायिन्छ ।
उतिपाछा कि कलौँकि कोसी गणपति बाला कि चायिन्छ ।
उतिपाछा कि कलौँ कि कोसी सिट्टी संसार दिउँलो ।
उतिपाछा कि कलौँ कि कोसी तोइ जोग्याला दिउँलो ।
परम्परागत नारी
फाग र अठवाली भित्र विभिन्न भुमिकामा देखिएकी गो:रा तत्कालीन मानसखण्ड क्षेत्रकि परम्परागत नारीको रुपमा देखिएकी छिन् । जसले लोक जीवनमा व्याप्त अनेक प्रकारका अभाव एवम् समस्या झेलेकी छिन् । सासु उपेक्षा र सौताको कटुता का साथै माइतीको व्यवहार पनि नजिकबाट महसुस गरेकी छिन् । गो:राको माध्यमबाट तत्कालीन समाजमा नारीको स्थितिलाई देखाउने प्रयास गरिएको छ । गो:राको त्याग, ममता एवम् कर्तव्यको महान उदाहरणसंगै वेदना, पीड़ा दुःख , विलास र विरागको समयमा एक समान रहने सहिष्णुता एवम् धैर्यताकी प्रतिमुर्तिको रुपमा प्रस्तुत गरिएको छ ।
फाग र अठवाली भित्र गो:रा मयस्सरलाई अलौकिक चरित्रको रुपमा प्रस्तुत नगरी सामान्य स्त्रीपुरुषको रूपमा चित्रित गरिएको छ । सम्पुर्ण गाथाहरुमा दुबै चरीत्रहरुको माध्यमबाट मानसखण्डको लोकजीवनको व्यापक परिदृश्य प्रतिबिम्बित गर्न खोजिएको छ । गो:रा र संजाको मिलनले आफ्नो हक अधिकारका नारीहरु आपसमा मिल्नुपर्छ भन्ने सन्देश दिएको छ । गौराबारे वैदिक, धार्मिक, पौराणिक लोकोक्तिहरूमा नारी शक्ति र आवश्यकतालाई उच्च सम्मानका साथ केन्द्रमा राखिएको छ । गौराका अवसरमा खेलिने डेउडा खेलहरुले वर्तमान समयका नारीले भोगेका सुखदुःखलाई समेट्ने गरेका छन् ।
गौराभित्र चित्रण गरिएको सामाजिक अवस्था सदियौँ पुरानो भए पनि गो:राले भोग्नुपरेका दु:ख कष्ट वर्तमान समयका नारीले समेत भोग्नु परिरहेको छ । यति लामो कालखण्डमा पनि समाजमा नारीको अवस्था परिवर्तन हुन नसक्नु “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता” भन्ने शास्त्रको मर्मलाई व्यवहारमा उतार्न नसक्नु हो । हामीले यस्तो समाज निर्माण गर्न सक्नुपर्छ कि लोली गो:राले त्यो समयमा पाएको दु:ख अहिलेका नारीले भोग्न नपरोस् । साथै नारीहरूकै कथा, सहभागिता, आवाज र आधिपत्य ले सजिएको गौरा पर्वलाई नारी मुक्तिको पर्वको रुपमा यसको मौलिकता मर्न नदिई भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।
शैल्यशिखर -८, दार्चुला घर भएका लेखक खिमानन्द जोशी त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रिय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।