गुप्तचरका एसपीहरुको मनलाग्दी सरुवा गरिँदै

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले भाद्र मसान्त सम्म एसपीहरुको सरुवा गर्ने तयारीलाई अन्तिम अवस्थामा पुर्याएको छ ।

पटक पटक सच्याइएको सूचीलाई अन्तिम रुप दिँदै अधिकांशको जिल्ला सरुवा गर्न लागिएको बताइएको छ । शक्तिकेन्द्र र राजनीतिक आस्थाको आडमा सरुवा सूचीलाई लाजमर्दो बनाउन लागिएको आरोप मुख्य अनुसन्धान निर्देशक हुतराज थापामाथि लागेको छ ।

एसपीहरुको सरुवामा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन र महराहरुको विशेष हात रहेको आरोप लगाउँदै स्रोत भन्छ,‘पुन र एक जना घोरसाइने समेतको सरसल्लाहमा माओवादी निकट भनिएकालाई रोजिएका विशेष जिल्लामा खटाउन लागिएको छ । अरुलाई भने छानिछानी अन्यत्र जिल्लामा पठाइँदैछ ।’

सबैजसो जिल्लामा अवधि पुगेकाहरुको सरुवा हुने सम्भावना बढेको छ । तर,एकतर्फी रुपमा माओवादी र आफू निकटलाई विशेष ठाउँमा राख्न खोजिएपछि अरुले असन्तुष्टि जनाइसकेका छन् । प्रमुख थापासँग नाता लगाउँदै निकट भएकादेखि राजनीतिक शक्ति केन्द्रको आडमा रहेकालाई थप काखी च्याप्न खोजिएको उनीहरुको भनाई छ ।

यता, केही समयअघि राष्ट्रपति कार्यालय पुर्याइएका काठमाडौं भ्याली अपरेसनकी महिला इन्सपेक्टर विनिता दाहाललाई पुनः अपरेसनकै जिम्मा दिएर अहिले अख्तियार पुर्याइएको छ । तत्कालीन प्रमुख गणेश अधिकारीले काम सन्तोषजनक नभएको जनाउँदै उनलाई राष्ट्रपति कार्यालयमा खटाएका थिए । तर, हुतराज नियुक्त भएलगत्तै पुनः अपरेसनमा ल्याइएर उता लगिएको हो ।

त्यसैगरी राजधानी बाहिर सरुवा हुने र घर पायक केही महिला कर्मचारीहरुको रहस्यमय तरिकाले थमौती हुँदै आएकोमा विभागभित्रै अनेक कुरा काट्न थालिएको छ । विभागकी कर्मचारी विनिता दाहालको सिफारिसमा त्यस्ता महिला कर्मचारीको थमौती हुने गरेको रहस्य खुलेपछि कुरा काटिएको सहजै अनुमान लगाउन सकिन्छ । दाहालका श्रीमान सशस्त्र प्रहरी बलका इन्सपेक्टर थिए । जुम्लामा ब्याडमिन्टन खेल्ने क्रममा उनको निधन भएको थियो । ‘अहिले विनिताको सिफारिसपछि चिफ सा’बले कलम घुमाइहाल्नुहुन्छ । यसैगरी मन परेकाको थमौती हुने गरेको छ,’ पछिल्लो अवस्थाबारे बताउँदै विभागको उच्चस्रोतले गुनासो पोखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्