रास्वपा केन्द्रीय समिति बैठक बस्दै , यी हुन् १० एजेण्डा !

काठमाडौँ – स्थानीय तह निर्वाचन र राष्ट्रिय भेला लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट सुरू हुने केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ।

केन्द्रीय समिति बैठकले पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई थप कारबाहीको निर्णय पनि गर्ने सम्भावना रहेको एक सदस्यले बताए। यसअघि बसेको केन्द्रीय समितिले उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गर्दै साधारण सदस्य मात्रै कायम राखेको थियो।

यसबाहेक समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए। रास्वपाले यसबीचमा राष्ट्रिय भेला आयोजना गर्दैछ। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले नै यसबारे निर्णय गरेकाले आज यसबारे कार्ययोजना बन्ने रास्वपाले बताएको छ। साउन १० गते बसेकै केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको थियो। आज बस्ने बैठकले कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रमबारे छलफल गर्ने झाले बताए।

रास्वपाले संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन गर्दैछ। त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ। यसबीचमा रास्वपाले केन्द्र तथा सातै प्रदेशमा विधान संशोधनका लागि बन्द कार्यशाला गरेको थियो। त्यसको प्रतिवेदन र उपलब्धीबारे छलफल हुने बताइएको छ ।

रास्वपाले स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्दैछ। निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदहरूमा मंसिरको तेस्रो साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ। केही दिनअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै यस्तो सुझाव दिएका थिए। रास्वपाभित्र स्थानीय तहमा भाग लिने कि नलिने भन्ने भिन्न विचार छ। स्थानीय तह गैरदलीय हुनुपर्ने कुरा पनि रास्वपाले बेलाबेला उठाउँदै आएकाले यसबारे केन्द्रीय समितिमा कार्यसूची नै बनाएर छलफल थालिएको एक नेताले बताए।

रास्वपाले संविधान दिवसको कार्यक्रमलाई केन्द्रीय समितिको एजेन्डा बनाएको छ। असोज ३ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने उसको लक्ष्य छ। भ्रष्टाचारको मुद्दाको हदम्यादबारे र वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे पनि केन्द्रीय समितिमा छलफल हुने छ ।केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन र विविध प्रस्तावमाथि छलफल सहित १० कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्