दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने काम अन्तिम चरणमा

काठमाडौँ — दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खुल्ने भएको छ । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको गृहमन्त्री लेखकले जानकारी दिए ।

काठमाडौंमा सोमबार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको जानकारी दिए ।

सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले जानकारी दिए । भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए । सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । उक्त बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमबाट भारतसँगको व्यापारिक सम्बन्ध स्थापना हुने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्