आज र भोलि अति भारी वर्षाको सम्भावना, ३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ ।

अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ । बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।

अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ । त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।

कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्