अख्तियारले काट्यो शैल्यशिखर नगरपालिकालाई पत्र, मेयरसहित १० जनासँग जवाफ माग (पत्र सहित)

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका अख्तियारको फन्दामा फसेको छ । नगरपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय कन्चनपुरले पत्रकाटेर नगरपालिकालाई मेयर विजयसिंह धामी, तत्कालिन प्रमुख प्रसाशकीय अधिकृत पुस्कर सिंह धामी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, नगरपालिकाका इन्जिनियर योगेशसिंह धामी लगायतका विभिन्न कर्मचारीहरुको विवरण र उनीहरुले अनियमिता गरेको भनिएको कागजातहरु अख्तियारले माग गरेको हो ।

अख्तियारले काटेको पत्र

श्री शैल्यशिखर नगरपालिका,
ने.स. १९४४

नगर कार्यपालिकाको कार्यालय, गोकुलेश्वर, दार्चुला ।
                                                         

                                    विषय :– प्रतिक्रिया सहित प्रमाणित कागजात पठाउनहुन ।

प्रस्तुत विषयमा जिल्ला दार्चुला शैल्यशिखर नगरपालिकामका नगर प्रमुख विजय सिंह धामी लगायतका पदाधिकारी÷कर्मचारीहरुले विभिन्न शिर्षकमा आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा तहाँ कार्यालयको स्पष्ट प्रतिक्रिया सहित निम्नानुसारका कागजातहरुको प्रमाणित प्रतिलिपीहरु यो पत्र प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र पठाई छानविन कार्यमा सहयोग गरी दिनु हुन अनुरोध छ ।
तपशिलः
१. प्रमुख प्रशासकिय अधिकृत पुष्कर सिंह धामीले दोहोरो भत्ता लिएको तथा आफन्तलाई बिना प्रतिस्पर्धा नियुक्ति गरेको सम्बन्धमा के कसो हो ? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई झुक्याएर स्वार्थ बाझिने गरी नगर प्रमुख विजय सिंह धामीले आफ्नै छोरा पुष्कर सिंह धामीलाई प्रमुख प्रशासकिय अधिकृत पदमा काम काज गर्ने गरी मन्त्रालयलाई सिफारिस गरेको सम्बन्धमा वास्तविकता के हो ? स्पष्ट प्रतिक्रिया सहित आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी ।
२. नगर प्रमुख विजय सिंह धामीले नगरपालिका र सो अन्तर्गतका सरकारी विद्यालय, स्वास्थ्य चौकी लगायत अन्य कार्यालयहरुमा ३०० जति पदहरुमा विना प्रतिस्पर्धा कानून विपरित आफ्ना भाई भतिजा लगायत आफन्तहरुलाई नियुक्ति दिन लगाएको सम्बन्धमा वास्तविकता के कसो हो ? नगरपालिकाको लागि घर भाडामा लिदा नगर प्रमुख विजय सिंह धामीले अस्वाभाविक भाडा दर कायम राख्न लगाई व्यक्तिगत लाभ आर्जन गरेको सम्बन्धमा वास्तविकता के कसो हो ? स्पष्ट प्रतिक्रिया सहित आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी ।
३. तहाँ नगरपालिकामा कार्यरत ईन्जिनियर योगेश सिंह धामीलाई कानून विपरित प्रतिस्पर्धा नगराई सोझै ७ औ तहमा नियुक्ति गरेको बिषयमा के कसो हो ? उक्त नियुक्ति प्रक्रिया सँग सम्बन्धित सम्पुर्ण कागजातहरुको प्रमाणित प्रतिलिपिहरु ।
४. निमित्त प्र.प्र.अ.सुरेन्द्र बहादुर बिष्टले दोहोरो भत्ता लिएको र करिव रु.२९०००/– मुल्य पर्ने मोबाईल किनेको भनेर रु ३,६३०००/– को बिल पेश गरेको, जिप खर्च भनेर रु. २१५००/– लिएको सम्बन्धमा बास्तविकता के कसो हो ? साथै निज प्र.प्र.अ. सुरेन्द्र बहादु बिष्टले कानून विपरित विज्ञापन समेत नखोली ४५ बर्ष पुरा भैसकेका मनोरथ जोशीलाई अधिकृत सरहको नियुक्ति दिएको सम्बन्धमा के कसो हो ? सो सँग सम्बन्धित आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि ।
५.प्रा.स.बलदेव भट्टले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको नाममा रु. ३९,१२,३६८। – शिर्षक नखुलाई लिएर खर्च गरेको सम्बन्धमा के कसो हो ? सम्बन्धित आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि ।
६. सुचना अधिकारी मनोरथ जोशीले आफ्नो योग्यता ढाटेर नक्कली वकिल बनेर कानून विपरित नियुक्ति लिएको सम्बन्धमा के कसो हो ? तथा निजले कानून विपरित दोहोरो भत्ता लिएको विषयमा वास्तबिकता के कसो हो ? निजले मेलमिलाप सम्बन्धी तालिमको नाममा रु. २,७५,८९०/– घोटाला गरेको सम्बन्धी बास्तविकता के हो ? उक्त तालिम सँग सम्बन्धी आवश्यक कागजपत्रहरुको प्रमाणित प्रतिलिपीहरु ।
७.खरिदार मनोरथ जोशीले नगरपालिकाको स्टोर सम्हालेर सामग्रीहरु हिनामिना गरेको, कानून विपरित नगरपालिकामा काजमा बसिरहेको, सरुवा भएको ठाउँमा नगई अटेर गरेको सम्बन्धमा वास्तविकता के कसो हो ?
८. सहायक लेखापाल शेर सिंह बिष्टले कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता समेत गोकुलेश्वर स्थित मेगा बैंकको आफ्नो व्यक्तिगत खातामा राखी ३ बर्ष भन्दा लामो समय देखी बजेट हिनामिना गर्दै आएको, रु डेढ करोड भन्दा बढी हिनामिना गरेको र सो रकम घर घरेडी किन्न र मिटर ब्याजमा समेत लगाउने गरेको सम्बन्धमा वास्तविकता के हो ?
९. सोही न.पा. मा कार्यरत करारका कर्मचारी राम सिंह धामीको खातामा आ.व.२०८०।०८१ मा विविध शिर्षकमा रु.४० लाख रकम अग्रिम जम्मा गरी पटक पटक गरी निकाशा दिएको र निज कर्मचारी राम सिंह धामीले उक्त शिर्षकको रकमहरु अपचलन गरी महेन्द्रनगर, धनगढी लगायतका ठाँउहरुमा आफु आफ्ना घरका मानिसहरुको नाममा घर घडेरी जोडेको सम्बन्धमा के कसो हो ?
१०. वडाध्यक्ष केशव दत्त जोशीले आफ्नै वडाको विद्यालयको अनुगमन गरेको भनेर रु.२७०००/– लिएको तथा कानून कार्यालयका सामाग्रीहरु (कुर्सी, कार्पेट, ग्याँस चुलो आदी) आफ्नो घरमा राखेको सम्बन्धमा वास्तविकता के कसो हो ? निजले संचालनमै नरहेको लटिनाथ आ.वि.को फिल्ड निर्माणको नाममा मिलेमतोमा रु.२,५०,०००/– लिएको सम्बन्धमा वास्तविकता के कसो हो ? उक्त लटिनाथ आ.वि.को फिल्ड निर्माण सँग सम्बन्धित स्विकृत बजेट, लागत अनुमान, सम्झौता, कायादिेश, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र गोश्वारा भौचरको प्रमाणित प्रतिलिपिहरु ।

शैल्यशिखर–८ का स्थायी बासिन्दा समेत रहेका अधिवक्ता बिरभद्र जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा दर्ता गराएको नीतिगत भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दामा अख्तियारले शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी सहित १० जना सङ्ग सम्पूर्ण कागजात माग गरेको हो । साथै नगरपालिकामा भएको गैर कानूनी नियुक्तिहरु भएको भन्ने सम्बन्धमा समेत अख्तियारले सम्पूर्ण कागजात माग गरेको छ ।

नगरपालिकासँग सूचना माग गर्दा उनीहरुले आलटाल गरेपछि अख्तियारमै मुद्दा हालेको अधिबक्ता जोशीले उपहारखबरलाई जानकारी दिएका छन् । ‘ नगरपालिकासँग सूचना माग गर्दा उनीहरुले आलटाल गरेपछि अख्तियारमै मुद्दा हालेको हो’, अधिबक्ता जोशीले भने, ‘अहिले अख्तियारले सम्पूर्ण कागजात सहितको विवरण माग गरेको छ, यथार्थ केहो बाहिर आउँछ भन्नेमा ढुक्क छौँ’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्