उपत्यकाका बागमती नदी, हनुमन्ते, मनोहरा र गोदावरी खोलामा बाढी

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ। गएराति देखिको अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको आएको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ।

त्यहाँ बागमती नदीको जलसतह ५.५९ मिटर पुगेको छ। त्यस्तै गौरीघाटमा सतर्कता तह पार गरेको बागमतीको जलसतह २.३४ मिटर छ।

हनुमन्ते खोलामा पनि जलसतह खतरा तहभन्दा माथि रहेको महाशाखाले जनाएको छ। हनुमन्ते खोला भक्तपुरको जगातीमा र कौशलटारमा जलसतह खतरा तह पार गरेको छ। मनोहरा खोलाको जलसतह बालकुमारीमा ५.३५ मिटर पुगेको छ भने ललितपुरको थाइबामा गोदावरी खोलाले खतरा तह पार गरेको छ। पछिल्लो १२ घन्टामा उपत्यकाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको छ।

काठमाडौंको धाप ड्याममा १०७.८ मिलिमिटर, बूढानीलकण्ठमा ९० मिलिमिटर, कपनमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६०.६ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, टीकाथलीमा ६७.४ मिलिमिटर, खुमलटारमा ५९.४ मिलिमिटर वर्षा मापन भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्