कञ्चनपुरको शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

काठमाडौँ  – कञ्चनपुरमा दादुरा–रुबेलाका २ बिरामी फेला परेका छन् ।  शुक्लाफाँटा नगरपालिका–११ का आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेलाको सङक्रमण देखिएको छ । अन्य १९ जना शङ्कास्पद बिरामी रहेका छन् र उनीहरुमा दादुरा–रुबेला भए/नभएकोबारे परीक्षण भइरहेको छ ।

दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक सहकार्य गरी जनशक्ति परिचालन गरेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान गरेका छन् । २२ महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्षका बालक बसाइँसराइ गरेर शुक्लाफाँटा आएका हुन् ।

दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । दादुरा–रुबेला देखिएको क्षेत्रमा मात्रै खोप लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा पनि लगाउने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्