रामेछाप – रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।
पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।