म्यान्मारको चिठी – कविता

सानाबा

यता बर्मामा

धानखेतमा बम फल्न थालेको छ

बाटाहरू ढाकिएकाछन् माइन्सहरूले

जीवन होइन मृत्यु खोज्दै हिँडिरहेछौँ हामी

हुरीको पत्कर जसरी

सानाबा

झमझमी पानी बर्षिईरहेछ

सँगै बर्षिइरहेछन् मिसाइलका दाह्राहरू

सेनाहरू

घर घरमा पस्छन्

घरमा भएभरको अन्न , पैसा र बस्त्र लुट्छन्

कि बेस्सरी चुट्छन् घरका सबैलाई

कि बलात्कार गर्छन् आमा, दिदी र बहिनीहरूलाई

र,जलाइदिन्छन् घरबार र जन्तु जनावर

सानाबा

घरभित्रै आँधि बेहरी र चट्याँङ बर्षिन थालेपछि

घरभित्रै शत्रु र जनावरराज चल्न थालेपछि

कसरी अडिनु घरभित्र

हामी त

याँगुन,माण्डले र चोमेका जँगल जँगल

ज्यान जोगाउन,ज्यान छोडदै कुदिरहेछौँ

सानाबा

सरकार

पुल भत्काउँदै हिँडिरहेछ

सड़क भत्काउँदै हिडिरहेछ

बच्चा ,महिला र होनहार युबा मार्दै हिँडिरहेछ

यहाँ डर त सरकारको पो भो

सरकारबाट बच्न

मुसलधारे बर्षा र काला गोमनको माझमा दौडिइरहेछौ

सानाबा

त्यता त मुसलधारे बर्षा झरिरहेको सुन्छु

मुसलाधारे बर्षाले त

बगाएकोछ यतापनि तन , मन र धन सबै

मुसलधारे बर्षाभन्दा कयौँगुना बढी झरिरहेछ

बम, बारूद र ब्यालिस्टिक मिसाइलका ज्वालाहरू

सानाबा

राज्यलेनै टोक्न थालेपछि

देशजत्तिको असजिलो जीवनमा हुनेरहेनछ अरू केही

सानाबा

घर छोडियो , गाउँ छोडियो , शहर छोडियो

तर मातृभूमि छोडन त मनले मान्दोरहेनछ ज्यान रहेसम्म

यही मातृभूमि र ज्यान जोगाउन

हातमा एउटा प्रकाशस्तम्भ बोकेर

दौडिरहेछौँ

गोल्डन टेम्पल , इन्या लेक र यायाबदी नदी वरिपरिका

जँगल र घाँसे मैदानहरूमा

मरिन्छ कि बाँचिन्छ युध्दमा सानाबा

बाँचे भेटौला कुनैदिन अण्डमान सि का किनारहरूमा

२०८१ असार २४ सोमवार

ग्वँग:बुँ , नयाँबसपार्क , काठमाडौ

 

डा. दामोदर पुडासैनी किशोर  

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्