बंगलादेशको ढाकामा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना

राजदूतावास, नेपाल पर्यटन बोर्ड र होटल एशोसिएसन नेपालको संयुक्त आयोजनामा ​​‘नेक्स्ट डोर नेपाल : योर अल्टिमेट ट्राभल डेस्टिनेशन’ भन्ने नाराका साथ बंगलादेशको ढाकामा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल र बंगलादेशका होटल, ट्राभल र टुर उद्यमीहरूबीच B2B र नेटवर्किङ सत्रहरू भएका थिए।
सो अवसरमा बोल्दै राजदूत घनश्याम भण्डारीले दुई देशबीचको उत्कृष्ट छिमेकी सम्बन्धलाई पर्यटन र जनता–जनताबीचको सम्बन्धले थप सुदृढ बनाएको बताए । पर्यटनलाई नेपाल सरकारको प्राथमिकताको क्षेत्रका रूपमा औँल्याउँदै उहाँले दुई देश र जनतालाई एकताबद्ध बनाउन ट्राभल र टुर व्यवसायीबीचको B2B सम्पर्कले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका मार्केटिङ तथा प्रवद्र्धन विभागका प्रमुख लक्ष्मण गौतमले नेपालको प्रमुख पर्यटकीय उत्पादनका बारेमा प्रकाश पार्दै प्रस्तुति दिएका थिए । उनले बंगलादेश नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोमा जोड दिँदै सहभागी ट्राभल एजेन्ट र टुर अपरेटरहरूलाई बंगलादेशी साथीहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्न आग्रह गरे।

होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको जीवन्त र स्वागतयोग्य भावनामा जोड दिँदै दुई देशबीचको पर्यटन आदानप्रदान प्रवर्द्धनमा B2B संलग्नताले खेलेको भूमिकाको प्रशंसा गरे। कार्यक्रममा हानका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महतले सहभागी होटलहरुको प्रोफाइल प्रस्तुत गरेका थिए ।

बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक मोहम्मद सैफुल हसनले जनता-जनताको सम्पर्कलाई समृद्ध बनाउन कनेक्टिभिटीको आवश्यकतालाई जोड दिए।

सो अवसरमा बंगलादेशी सगरमाथा आरोहण गर्ने सुश्री निशात मजुमदार र बाबर अलीलाई सम्मान गरिएको थियो । उनीहरूले आफ्नो सफल सगरमाथा आरोहणका अनुभवहरू पनि साझा गरे।

होटल एसोसिएसन नेपालले बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा), टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टोआब), एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बंगलादेश (एटीएबी), बंगलादेश आउटबाउन्ड टुर अपरेटर्स एसोसिएसन (बोटोआ), टुरिजम एण्ड हस्पिटालिटी इंडस्ट्रीसँग पाँच छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कार्यक्रममा नेपाली लोक साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्ड, होटल एशोसिएसन नेपालका पदाधिकारी र विभिन्न १३ होटलका प्रतिनिधिसहित २१ सदस्य रहेको थियो । कार्यक्रममा सरकारी अधिकारीहरू, ट्राभल एजेन्सीहरूका प्रतिनिधिहरू, टुर अपरेटरहरू, होटलहरू र एयरलाइन्सहरू, र बंगलादेशका अन्य अतिथि सत्कार, ट्राभल र पर्यटनसँग सम्बन्धित संस्थाहरू सहित १५० भन्दा बढी सहभागीहरूको सहभागिता थियो।
नेपालको तर्फबाट सहभागी भएका होटल व्यवसायी तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले कार्यक्रम निक्कै प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो । साथै उहाँ सञ्चालक रहेको भक्तपुरको रानीकोटमा रहेको भिलेज हाइल्याण्डको भिडियो विज्ञापन समेत प्रस्तुत गरिएको थियो । जुन मुख्य काठमाडौं बाट २० किलोमिटरको दुरीमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्