प्रतिनिधिसभा सदस्य बडू र जगतगुरुबीच भेटवार्ता, दार्चुलाको व्यासमा ‘व्यास’ ऋषिको मुर्ति बन्ने

काठमाडौँ – दार्चुलाको व्यास क्षेत्रमा ‘व्यास’ ऋषिको मुर्ति बन्ने भएको छ । नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा दार्चुलाको व्यास क्षेत्रमा ‘व्यास’ ऋषिको मुर्ति बन्ने भएको हो । जगतगुरुले मुर्ति निर्माणका लागि सहयोग संकलन सुरु गरिसकेका छन् । व्यास ऋषिले तपास्या गरेको तपोभुमि दार्चुलाको व्यास क्षेत्र भएकाले सो क्षेत्रमा व्यास ऋषिको मुर्ति निर्माण गरि धार्मिक गतिविधि सुरु गर्न लागि जगतगुरुले जानकारी दिए ।

यसैबीच शनिबार दार्चुलाका जनप्रतिनिधि र अन्य सरोकारवाला व्यक्तित्वहरुसँग भेटघाट गरि जगतगुरुले यसबारे जानकारी गराएका छन् । भेटमा नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अक्कलदेव मिश्र, शहरीविकास मन्त्रालयका सह–सचिव प्रेमदेव भट्ट, महाकाली नगरपालिकाका पूर्व मेयर हंशराज भट्ट, मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्रसिंह धामी, काँग्रेस नेता गणेश भट्ट, केशर भण्डारी, विष्णुदत्त मिश्र लगायतका व्यक्तिहरु सहभागि रहेका थिए ।

अन्तरक्रिया कार्यत्रममा बोल्दै सांसद बडूले दार्चुलाको व्यास गाउँपालिकाको छाङ्रु गाउँमा निर्माण गरिने व्यासको मुर्तिले दार्चुलालाई धार्मिक पर्यटनको नयाँ उचाईमा पुर्याउने बताए । दार्चुलामा धार्मिक पर्यटनको अथाह सम्भावना भएपनि त्यसको प्रचार प्रसार गर्न नसकिएका कारण ओझेलमा परेको उनले बताए । दार्चुलाप्रति जगतगुरुले देखाउनुभएको सद्भाव र कदमका लागि सांसद बडूले जगतगुरुलाई धन्यवाद समेत दिए ।

एक फरक प्रसंग उठाउँदै सांसद बडूले व्यास क्षेत्रमा सडक पुर्याउन आफुले प्रयत्न गरे पनि सरकारको लापरवाहीले बजेट नपरेको बताए । ‘पहिला दार्चुला तिंकर सडकको छुट्टै कार्यलय थियो, कार्यालय स्थापना गरेर नै काम भइरहेको थियो, पछि त्यो सडकलाई समेत महाकाली करिडोरमा गाभेर कन्चनपुर देखि तिंकर सम्म महाकाली करिडोर बनाइयो’ सांसद बडूले भने, ‘महाकाली करिडोरको बजेटले दार्चुला तिंकर सडक बन्न सक्दैन, सेनालाई दिएर मात्रै के गर्ने, बजेट दिन नसकेपछि ।’ सांसद बडूले दार्चुला तिंकर सडकलाई छुट्टै योजना बनाएर छुट्टै बजेट शीर्षक दिएर छिटो बनाइनुपर्ने धारण राखे । त्यस क्षेत्रको पर्यटन विकास र आर्थिक गतिविधि संचालन गर्नको लागि नेपालबाट बाटो तत्काल त्यस क्षेत्रमा पुर्याउनुपर्ने उनको भनाई थियो ।

यस्तै उक्त कार्यक्रममा पूर्व मेयर भट्टले मूर्ति निर्माणसँगै बाटो निर्माणका लागि दवाबमूलक कार्यक्रम समेत गरिदिन अनुरोध गर्नुभयो । साथै उहाँले दार्चुलाइ पूर्वमेचीसम्मका जनता तथा भक्तजनहरुलाई जोड्न गरेको पहलको प्रशंशा समेत गर्नुभयो ।

यस्तै पूर्व अध्यक्ष धामीले मालिकार्जुनमा जगतगुरुले जोतिर्लिङ्ग स्थापना गरेपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा बृद्धि भएको समेत बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकालमा शैल्यशिखर धाममा जान केहि पदमार्ग निर्माण गरेको बाँकि पदमार्ग निर्माण गर्न धार्मिक आस्थाले नमिल्ने भएकाले गर्न नसकेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्